पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा १ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा १ खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म लक्ष्यको ८८.०७ प्रतिशत राजस्व संकलन भएको हो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षको सात महिनामा कार्यालयको राजस्व संकलन उत्साहजनक छ। कार्यालयले साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोज महिनामा १९ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
त्यस्तै कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ र मंसिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै पुसमा २० अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले माघ महिनामा २१ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा १८ अर्ब ९० करोड रुपैयाँ संकलन गरेको छ। भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। रासस