शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

चार दशकदेखि हलुवा-पराठाको स्वाद चखाउँदै अरमान

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ३ २०८२
चार दशकदेखि हलुवा-पराठाको स्वाद चखाउँदै अरमान

प्रत्येक दिन करिब ४० देखि ५० केजीसम्म हलुवा-पराठा बिक्री गरेर १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ।

बाँके- नेपालगञ्ज उपमहानगरपालिका-१० चौलिकाचोकमा हलुवा-पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको भीडभाड हुने गर्दछ। करिब चार दशकदेखि स्थानीय अरमान अलीले हलुवा-पराठाको स्वाद चखाउँदै आएका छन्।

फेमस हलुवा-पराठामा बिहान ६ बजेदेखि नै नजिकै रहेको महेन्द्र बहुुमुखी क्याम्पस पढ्ने विद्यार्थी र रुपैडिहा आवतजावत गर्ने बटुवा हलुवा-पराठा खान पुग्ने गर्दछन्। अरमानको परिवारले करिब ४३ वर्षदेखि हलुवा-पराठाको एउटै परिकार बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन्।

'हाम्रो बुबाले भारतको मुम्बईमा सिकेर आएपछि यहाँ हलुवा-पराठाको पसल खोल्नुभएको थियो। अहिले हामीले सञ्चालन गर्दै आएका छौँ', अरमानले भने, 'हामीले बनाएको हलुवा-पराठा अहिलेसम्म नमीठो भयो भन्ने सुन्नुपरेको छैन, बरु मीठो भयो भनेर थपेर खाने र पोको पारेर घर लैजानेहरू धेरै छन्।'

खानाका अनेक परिकार पाइने भएकाले नेपालगञ्जलाई स्वादहरूको सहर पनि भनिन्छ। ती अनेक स्वादमध्ये हलुवा-पराठा पनि एक हो। नेपालगञ्जका स्थानीयमात्र नभई बाहिरबाट नेपालगञ्ज घुम्न आउने पाहुना पनि हलुवा-पराठा खाना चौलिकाचोक पुग्ने गरेको अरमानले बताए।

प्रत्येक दिन करिब ४० देखि ५० केजीसम्म हलुवा-पराठा बिक्री गरेर १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ। पीठो मुछ्ने, हलुवा बनाउने, पराठा बनाउने, बिक्री गर्ने लगायत कामका लागि अरमानले सात जना कामदारलाई रोजगारीसमेत दिँदै आएका छन्। अन्य दिनभन्दा शनिबार र सार्वजनिक बिदाका दिनमा हलुवा-पराठा खान आउने मानिसको धेरै भीडभाड हुने गरेको अरमानले बताए।

ठूलो पराठालाई तौलेर हलुवाका साथमा बेच्ने गरिन्छ। पराठा रोटी खानुको स्वाद त छँदैछ, बनाएको हेर्न झनै मज्जा आउँछ। नाङ्लोभन्दा ठूलो तावामा पकाउनुअघि पराठा पकाउने कारिगढले पीठोलाई केही पराठाको आकारमा बनाएपछि त्यो आकारबाट बढाएर सुपोजत्तिकै ठूलो आकारमा पुर्‍याउँछन्। जुन पराठाको आकारले आधा शरीर छोपिन्छ। छेउतिरबाट हेर्दा पकाउनुअघिको काँचो पराठा पछ्यौरा ओढेजस्तै देखिन्छ। एउटै पराठाबाट कम्तीमा १० जनासम्मलाई पुग्ने उनको भनाइ छ।

हलुवा-पराठाको माग बढ्दै गएपछि हाल नेपालगञ्जको त्रिवेणी मोड, बागेश्वरी मन्दिरको पूर्वपट्टि पनि केही वर्षदेखि हलुवा-पराठा बनाउने गरिएको छ। तर अन्य स्थानको भन्दा चौलिकाचोकको हलुवा-पराठा नै अधिकांशको जिब्रोले मन पराउने गरेको महेन्द्र बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति माधव खत्रीले बताए।

बजारमा थरिथरिका फास्टफुड र रेष्टुरेन्टहरू खुले पनि अरमानको पसलमा आउने ग्राहकको भीड घटेको छैन। स्वच्छता र पुख्र्यौली स्वादले क्याम्पस पढ्ने युवादेखि पुराना धेरैका लागि यहाँको हलुवा-पराठा नास्तामात्र नभई एउटा पुरानो याद हुने गरेको खत्रीको भनाइ छ। रासस


प्रकाशित : आइतबार, फागुन ३ २०८२१०:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend