काठमाडौं- प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी भक्तजनले उपवास, जप, ध्यान तथा रात्रिजाग्रामका माध्यमबाट पर्व मनाउने परम्परा रहेको छ।
आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि रहेको र त्यसपछि चतुर्दशी प्रारम्भ हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म रहनेछ। मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि मनाउने निर्णय गरिएको समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।
शास्त्रीय मान्यताअनुसार फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा परब्रह्मले शिवरूप धारण गर्नुभएको विश्वास गरिन्छ। सोही मध्यरातमा पूजा, आराधना र दर्शन गरे यस लोकमा सुख–शान्ति तथा परलोकमा सद्गति प्राप्त हुने धार्मिक वचन रहेको बताइन्छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पुगेर श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरिरहेका छन्। शिवजी उत्पत्ति हुनुभएको रातका आधारमा नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवपुराण लगायतका ग्रन्थमा उल्लेख गरिएको छ।
धार्मिक मान्यताअनुसार माघ महिनामा रुद्रत्वका कारण पत्रविहीन भई जीर्ण देखिने वनस्पतिमा फागुनमा शिवत्वका कारण पुनः जीवन सञ्चार हुने विश्वास गरिन्छ। त्यसैले पनि शिवरात्रि प्रकृति र जीवनचक्रसँग जोडिएको आध्यात्मिक पर्वका रूपमा लिइन्छ।
व्रतमध्ये सर्वोत्तम मानिएको महाशिवरात्रिका दिन भक्तजनले दूध, धतुरो र बेलपत्र अर्पण गरी उपवास बस्ने परम्परा छ। उपवाससहित रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। घर–घर, मठमन्दिर तथा चोकमा दाउरा संकलन गरी धुनी बालेर भजनकीर्तन तथा प्रसाद वितरण गर्ने चलन पनि रहेको छ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा स्थापित यस अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिएको छ। रातको चार प्रहरमा चार प्रकारका पूजा, महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सव आयोजना गरिनुका साथै लाखौँ बेलपत्र अर्पण गरिने कार्यक्रम छ। कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नृत्य तथा भजन प्रस्तुत गरिने जनाइएको छ।
देशका विभिन्न भागका साथै छिमेकी राष्ट्र भारतबाट समेत तीर्थयात्रीहरू पशुपतिनाथ दर्शनका लागि काठमाडौँ आइपुगेका छन्। विगत वर्षहरूमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुगेका तथ्याङ्क छन्।
यस वर्ष पनि मेलामा आउने भक्तजनको सुविधाका लागि विशेष व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले जानकारी दिनुभयो। तीन वर्षअघिदेखि नै पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको र यस वर्ष पनि सो निर्णयलाई निरन्तरता दिइएको छ। निषेधित पदार्थ सेवन वा बिक्रीवितरण गरेको पाइएमा कानुनी कारबाही गरिने जनाइएको छ।
महाशिवरात्रिका अवसरमा आज बिहान २ः०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको छ। दर्शन व्यवस्थापनका लागि मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोका, बत्तीसपुतली–गौशाला–तिलगङ्गा क्षेत्र हुँदै दक्षिणढोका तथा वनकाली ओरालो हुँदै पश्चिमतर्फबाट प्रवेश गर्ने गरी तीन बाहिरी लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ। आवश्यकता अनुसार तिलगङ्गा राममन्दिरतर्फ थप लाइन व्यवस्था गर्न सकिने जनाइएको छ।
दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय र वनकालीलगायत स्थानमा व्यवस्थापन मिलाइएको छ। उपत्यकाका अन्य शिवालयहरूमा पनि आज विशेष पूजा, आराधना तथा मेला आयोजना भइरहेका छन्। महाशिवरात्रि पर्वले धार्मिक आस्था, सांस्कृतिक एकता र आध्यात्मिक साधनालाई सुदृढ गर्ने विश्वास गरिएको छ। रासस