काठमाडौं- नेपाललाई सन २०३५ सम्म १०० अर्ब अमेरिकी डलर बराबरको अर्थतन्त्रमा रूपान्तरण गर्ने महत्वाकांक्षी लक्ष्यसहित नेपाल उद्योग परिसंघ (सीएनआई) ले उत्पादनमुखी राष्ट्रिय अभियानलाई तीव्र बनाउने घोषणा गरेको छ। स्वदेशी ‘मिट एण्ड ग्रीट’ कार्यक्रममा प्रस्तुतिकरण गर्दै सीएनआइ अध्यक्ष वीरेन्द्रराज पाण्डेले आयातमुखी आर्थिक संरचनाबाट उत्पादन र निर्यातमुखी अर्थतन्त्रतर्फ निर्णायक मोड लिनुपर्ने बताएका हुन्।
उनले २०७७ फागुन २४ गतेदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सुरु गरिएको ‘मेक इन नेपाल-स्वदेशी अभियान’लाई दीर्घकालीन औद्योगिक रूपान्तरणको राष्ट्रिय आधारका रूपमा व्याख्या गरे। १०० अर्ब डलरको अर्थतन्त्र निर्माणका लागि उत्पादन, कृषि, रोजगारी, सीप विकास र लगानी विस्तारलाई केन्द्रीय रणनीतिमा राखिएको उनले स्पष्ट पारे।
अध्यक्ष पाण्डेले स्वदेशी उत्पादनको ब्रान्डिङ, गुणस्तर सुनिश्चितता र उपभोक्तामाझ विश्वास निर्माण अभियानको मुख्य उद्देश्य रहेको बताए। घरेलु मूल्य अभिवृद्धि, गुणस्तर मापदण्ड र नैतिक अभ्यास पूरा गर्ने १४५ नेपाली उत्पादक कम्पनी हालसम्म स्वदेशी अभियानमा आबद्ध भइसकेको जानकारी दिँदै उनले लोगो प्रयोगमार्फत स्वदेशी वस्तुको पहिचान सुदृढ गरिएको उल्लेख गरे।
नेपालको अर्थतन्त्रको वर्तमान आकारलाई विस्तार गर्दै दशकभित्रै तीन गुणासम्म वृद्धि गर्न सकिने दाबी गर्दै उनले सार्वजनिक खरिद नीतिमा स्वदेशी प्राथमिकता, नीतिगत स्थायित्व, वित्तीय पहुँच सहजता र पूर्वाधार विकासलाई अनिवार्य शर्तका रूपमा अघि सारे। 'उत्पादन क्षेत्र सुदृढ नगरी १०० अर्ब डलरको लक्ष्य सम्भव हुँदैन,' उनले भने, 'सरकार, निजी क्षेत्र र उपभोक्ताबीचको सहकार्य नै आर्थिक रूपान्तरणको आधार हो।'
प्रस्तुतिकरणका क्रममा भारतको 'मेक इन्डिया' र 'अष्ट्रेलियन मेड' जस्ता अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण दिँदै चरणबद्ध लक्ष्य निर्धारण, तुलनात्मक लाभ भएका क्षेत्रको पहिचान, पूर्वाधार र सीपमा लगानी, व्यवसाय वातावरण सुधार तथा विश्वसनीय प्रमाणीकरण प्रणाली निर्माण गर्नुपर्ने धारणा व्यक्त गरियो।
सीएनआइले उत्पादन तथा कृषि क्षेत्रको संरचनात्मक रूपान्तरण, रोजगारी सिर्जना, निर्यात विस्तार र व्यापार घाटा न्यूनीकरणलाई १०० अर्ब डलरको अर्थतन्त्र निर्माणको आधारस्तम्भका रूपमा लिएको जनाएको छ।
अध्यक्ष पाण्डेले स्वदेशी अभियानलाई केवल प्रचारात्मक कार्यक्रम नभई दीर्घकालीन आर्थिक रणनीति भएको उल्लेख गर्दै 'अबको दशक औद्योगिक पुनर्जागरणको दशक हुनुपर्छ' भन्ने सन्देश दिएका छन्।