शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्सेको मूल्य सीमाप्रति रिलायन्स स्पिनिङको असन्तुष्टि

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २ २०८२
नेप्सेको मूल्य सीमाप्रति रिलायन्स स्पिनिङको असन्तुष्टि

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० देखि ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ। जुन अंकित मूल्यको तीन गुणा मात्र हो। कम्पनीका अनुसार यो निर्णय यसअघि अन्य कम्पनीहरूको सूचीकरणका क्रममा अपनाइएको अभ्यास र आधारभन्दा विपरीत छ।

काठमाडौं- रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो सेयरको पहिलो कारोबारका लागि निर्धारण गरेको मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति  असन्तुष्टि व्यक्त गरेको छ।

 एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले नेप्सेको यो निर्णय अव्यावहारिक र विभेदकारी रहेको दाबी गरेको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० देखि ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ। जुन अंकित मूल्यको तीन गुणा मात्र हो। कम्पनीका अनुसार यो निर्णय यसअघि अन्य कम्पनीहरूको सूचीकरणका क्रममा अपनाइएको अभ्यास र आधारभन्दा विपरीत छ। 

बुक बिल्डिङ जस्तो आधुनिक विधिबाट सेयर निष्कासन गरिएको हुनाले यसको मूल्य निर्धारण प्रक्रिया पनि सामान्य विधिभन्दा फरक र वैज्ञानिक हुनुपर्ने माग कम्पनीले राखेको थियो।

कम्पनीले विज्ञप्तिमा आफ्नो कुराको सुनुवाइ नभएपछि बाध्य भएर सेयर सूचीकरण गर्नुपरेको उल्लेख गर्दै नेप्सेको यस्तो कदमले लगानीकर्ताको मनोबलमा नकारात्मक असर पर्न सक्ने चेतावनी दिएको छ। 

बुक बिल्डिङ प्रक्रिया अन्तर्गत योग्य संस्थागत लगानीकर्ताहरू बीच भएको सिलबन्दी बोलपत्रमार्फत सेयरको खरिद मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म कायम भएको थियो भने सर्वसाधारणका लागि १० प्रतिशत छुट दिएर ८२०.८० रुपैयाँ मूल्य तय गरिएको थियो।  कम्पनीका अनुसार नेप्सेले ३०० रुपैयाँसम्मको मात्र सीमा तोक्नुले वास्तविक बजार मूल्यलाई प्रतिनिधित्व नगर्ने ठहर छ।

आफ्नो प्रतिसेयर मूल्य ९१२ रुपैयाँ काल्पनिक नभई विज्ञ वित्तीय संस्थाहरूको प्रक्षेपण र सम्भाव्यताका आधारमा तय गरिएको स्पष्ट पार्दै कम्पनीले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ नै ४९०.५४ रुपैयाँ रहेको जानकारी दिएको छ। 

वर्तमान वित्तीय स्थितिले ९१२ को मूल्यलाई समर्थन गर्ने दाबी गर्दै कम्पनीले सबै लगानीकर्ताहरूलाई वास्तविक वित्तीय अवस्था र सम्भाव्यतालाई उचित विचार गरेर मात्र लगानीको निर्णय लिन अनुरोध गरेको छ।


प्रकाशित : शनिबार, फागुन २ २०८२१४:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend