काठमाडाैं- चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ।
सङ्घले श्रद्धाञ्जलीसभाको आयोजना गरी सो घोषणा गरेको हो।सङ्घका अध्यक्ष समीर बलामीले हरेक वर्ष माघ १८ गते स्व दिनेश सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गर्ने तथा सङ्घको वार्षिक उत्सवका अवसरमा ‘स्व दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गर्ने उद्देश्यसहित उक्त अक्षय कोष स्थापना गरिएको जानकारी दिए।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्व सिटौलाको नेपाली चलचित्र उद्योग र चलचित्र पत्रकारितामा रहेको योगदानको स्मरण गर्दै अक्षय कोषमा सहयोग गर्न सबैसँग अपिल गरे।
त्यसैगरी, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै स्व सिटौलाको योगदानको चर्चा गरे।
कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष विदुर गिरी, सल्लाहकार डब्बु क्षेत्री तथा वरिष्ठ चलचित्र पत्रकारहरू ध्रुव लम्साल, जयन सुब्बा मानन्धर, कृष्ण भट्टराई, दीपज्योति थापा, रोयल आचार्यलगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्व सिटौलाको योगदानको चर्चा गरे।
यसअघि चलचित्र पत्रकार तथा अन्य सहयोगी निर्माता एवं व्यक्तिहरूबाट तीन लाखभन्दा बढी सहयोग सङ्कलन भइसकेको सङ्घले जनाएको छ। यसैबीच, प्रदर्शनको ५१औँ दिनको अवसरमा चलचित्र ‘झरी पछिको इन्द्रेणी’ टिमले अक्षय कोषका लागि १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउँदै थप सहयोग सङ्कलन गरिएको जानकारी दिइएको छ।