काठमाडौं- गत पुस १८ गते बाँडफाँट सम्पन्न भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। ओपनिङ रेन्ज एक सयदेखि तीन सय रुपैयाँ रहेको छ। आउने सोमबारदेखि यो कारोबारमा आउने छ।
नेप्सेमा रिलायन्स स्पिनिङ मिल्सको कुल १ करोड ९० लाख कित्ता सूचीकृत भएको छ। जसमा सर्वसाधारणको १९ लाख २६ हजार ६ सय कित्ता (१०.१४ प्रतिशत) र संस्थापकको १ करोड ७० लाख ७३ हजार ४ सय कित्ता (८९.८६ प्रतिशत) रहेको छ।
नेप्सेले रिलायन्स स्पिनिङ मिल्सलाई ‘आरएसएमएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ ओपनिङ रेन्ज तोकेको हो।
नेपालकै सबैभन्दा ठूलोमध्येको एक रोजगारदाता र निर्यातमूलक कम्पनी रिलायन्स स्पिनिङ मिल्सको सेयर पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। कम्पनीमा २१ हजार ८ सय ७ जना सेयरधनी रहेका छन्।
तीन दशकअघि स्थापित रिलायन्स स्पिनिङ मिल्सले सुनसरीको सुनसरीको दुहबी र खनारमा रहेका उद्योगमार्फत कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ।
उद्योगका उत्पादनहरु नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ। कम्पनीमा ४ हजारभन्दा बढी जनशक्ति कार्यरत रहेका छन्।