शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कर्जा प्रवाह कमजोर हुँदा बैंकको आम्दानी संरचनामा फेरबदल, ब्याज घट्दै, शुल्क-कमिसन आय उकालोमा

आइतबार, फागुन ३ २०८२
कर्जा प्रवाह कमजोर हुँदा बैंकको आम्दानी संरचनामा फेरबदल, ब्याज घट्दै, शुल्क-कमिसन आय उकालोमा

कर्जा प्रवाह अपेक्षित रूपमा विस्तार हुन नसक्दा वाणिज्य बैंकहरूको आम्दानी संरचनामा परिवर्तन देखिन थालेको छ। परम्परागत रूपमा मुख्य आय स्रोत रहँदै आएको ब्याज आम्दानीको हिस्सा घट्दै गएपछि बैंकहरूले शुल्क-कमिसन तथा व्यापारिक कारोबारबाट हुने गैरब्याज आयमा जोड दिन थालेका छन्।

काठमाडौं- कर्जा प्रवाह अपेक्षित रूपमा विस्तार हुन नसक्दा वाणिज्य बैंकहरूको आम्दानी संरचनामा परिवर्तन देखिन थालेको छ। परम्परागत रूपमा मुख्य आय स्रोत रहँदै आएको ब्याज आम्दानीको हिस्सा घट्दै गएपछि बैंकहरूले शुल्क-कमिसन तथा व्यापारिक कारोबारबाट हुने गैरब्याज आयमा जोड दिन थालेका छन्।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म १ खर्ब २६ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेका छन्। यसमध्ये ९६ अर्ब रुपैयाँ ब्याज आम्दानी हो, जुन कुल आम्दानीको ७५.८९ प्रतिशत हो। अघिल्लो आवको सोही अवधिमा ब्याज आम्दानीको हिस्सा ७७.९२ प्रतिशत थियो।

ब्याज आम्दानी घट्नुको मुख्य कारण कर्जा प्रवाहको वृद्धिदर कमजोर हुनु, ब्याजदर घट्नु र निष्क्रिय कर्जा (एनपीएल) बढ्नु रहेको बैंकिङ क्षेत्रका अधिकारीहरूले बताएका छन्।

बैंकहरूले सेवा शुल्क-कमिसन र व्यापारिक कारोबारबाट हुने आम्दानीलाई प्राथमिकतामा राखेका छन्। डेबिट-क्रेडिट कार्ड, मोबाइल/इन्टरनेट बैंकिङ, क्यूआर कोड, विद्युतीय भुक्तानी, ब्यालेन्स सर्टिफिकेट, कर्जा प्रवाह, एलसी, बैंक ग्यारेन्टी जस्ता सेवा शुल्क गैरब्याज आयका मुख्य स्रोत बनेका छन्।

साथै सेयर, सुन र विदेशी मुद्रा कारोबारबाट हुने ट्रेजरी आम्दानी, विप्रेषण सेवा र अन्तर्राष्ट्रिय व्यापार वित्तसम्बन्धी कारोबारले पनि गैरब्याज आय बढाउन योगदान पुर्‍याएको छ। एक वर्षमा शुल्क–कमिसन र व्यापारिक आम्दानीको हिस्सा करिब १ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ। चालु आवको पुस मसान्तसम्म वाणिज्य बैंकहरूले साढे ३० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

चालु आवमा अपेक्षित कर्जा लगानी हुन नसक्ने संकेत देखिएको छ। बैंकिङ प्रणालीमा निक्षेप उल्लेख्य रूपमा बढे पनि कर्जा माग कम हुँदा अधिक तरलता समस्या बढेको छ।

१६ माघसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४ खर्ब ४ अर्ब रुपैयाँले बढेको छ, तर कर्जा लगानी १ खर्ब ७२ अर्बमा सीमित रहेको छ। अधिक तरलताका कारण ब्याजदर व्यवस्थापनमा राष्ट्र बैंकलाई चुनौती थपिएको छ। पुसमा जारी २ खर्ब रुपैयाँबराबरको बन्डले पनि तरलता व्यवस्थापनमा पर्याप्त असर गर्न सकेको छैन।

बैंकहरूले स्थायी निक्षेप सुविधा प्रयोग गरे पनि अधिक तरलताको समस्या यथावत् देखिएको छ। आइतबारसम्म वित्तीय प्रणालीमा ८ खर्ब ६४ अर्ब रुपैयाँ राष्ट्र बैंकमा थुप्रिएको छ। यसमा राष्ट्र बैंकले औसत २.७५ प्रतिशत ब्याज तिर्नुपर्ने अवस्था छ।

बैंकहरूले कर्जाको माग नहुँदा सर्वसाधारणलाई निक्षेप फिर्ता लैजान नसकिने अवस्था रहेको बताएका छन्। लगानी गर्न सकिने नयाँ क्षेत्र पहिचान गर्न नसक्दा तथा व्यवसायले नयाँ कर्जा लिन नचाहँदा समस्या जटिल बनेको बैंकहरूले बताएका छन्।

पुस महिनामा केही कर्जा वृद्धि देखिए पनि बैंकरहरूको भनाइमा त्यो नयाँ आर्थिक गतिविधिको परिणामभन्दा पनि दोस्रो त्रैमास समाप्तिसँग सम्बन्धित पुराना बैंकिङ कारोबार सेटलमेन्टको प्रभाव हुन सक्छ।

अर्थतन्त्रमा देखिएको सुस्तता, राजनीतिक अस्थिरता तथा उद्योग-व्यवसाय विस्तारको वातावरण कमजोर हुँदा कर्जा माग बढ्न सकेको छैन। कर्जा डिफल्ट दर बढ्दै गए पनि सुरक्षित लगानी क्षेत्र पहिचान गर्न नसक्दा बैंकहरूले सतर्कता अपनाएका छन्।

बैंकहरूको निक्षेप वृद्धि पनि उल्लेखनीय छ। चालु आवको पुसमा वाणिज्य बैंकहरूको निक्षेप १ खर्ब ३० अर्ब रुपैयाँले बढेको छ। तर सोही अवधिमा २० वाणिज्य बैंकले जम्मा १ खर्ब ५ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन्। १६ माघसम्म निक्षेप र कर्जा दुवै ९/९ अर्ब रुपैयाँले घटेको नेपाल बैंकर्स संघले जनाएको छ। औसत कर्जा-निक्षेप अनुपात ७३.९७ प्रतिशतमा सीमित छ, जुन नियामकले तोकेको ९० प्रतिशतको माथिल्लो सीमाभन्दा कम हो।


प्रकाशित : आइतबार, फागुन ३ २०८२०९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend