शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

भारतद्वारा निर्वाचनसम्बन्धी तेस्रो चरणको सहयोग हस्तान्तरण

बिहीबार , माघ २९ २०८२
भारतद्वारा निर्वाचनसम्बन्धी तेस्रो चरणको सहयोग हस्तान्तरण

भारत सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको निर्वाचनसम्बन्धी सहयोगअन्तर्गत तेस्रो चरणको सहायता बिहीबार औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

काठमाडौं- भारत सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको निर्वाचनसम्बन्धी सहयोगअन्तर्गत तेस्रो चरणको सहायता बिहीबार औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

काठमाडौंस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्। कार्यक्रममा नेपाली सेनाका लागि उपलब्ध गराइएको सामग्री पनि सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको थियो।

यस चरणअन्तर्गत २७० भन्दा बढी सवारीसाधन तथा अन्य सामग्री नेपाल सरकारलाई प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ। तीमध्ये नेपाली सेनाका लागि ५० वटा ट्रक समावेश छन्। ती ट्रकहरू राजदूत श्रीवास्तवबाट प्रधानसेनापति अशोक राज सिग्देलले ग्रहण गरेका थिए। आगामी निर्वाचनको तयारीका लागि नेपालले अनुरोध गरेअनुसार उक्त सहयोग उपलब्ध गराइएको दूतावासको विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा गृहमन्त्री अर्यालले समयमै र महत्वपूर्ण प्रकृतिको सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले नेपाल-भारत सम्बन्ध पारस्परिक विश्वास, मित्रता र लोकतान्त्रिक मूल्यप्रति साझा प्रतिबद्धतामा आधारित रहेको उल्लेख गर्दै दुई देशबीचको सहकार्य पारस्परिक लाभदायी र व्यापक प्रकृतिको रहेको बताए।

indian.jpg

यसअघि निर्वाचनसम्बन्धी सहयोगका पहिलो र दोस्रो चरणअन्तर्गत २० जनवरी र २९ जनवरी २०२६ मा ३१० भन्दा बढी सवारीसाधन तथा अन्य सामग्री नेपाललाई हस्तान्तरण गरिसकिएको छ। बाँकी केही सामग्री पनि आगामी दिनमा चरणबद्ध रूपमा उपलब्ध गराइने जनाइएको छ।

भारतीय पक्षबाट जारी सहयोगले नेपाल–भारतबीच विद्यमान बहुआयामिक तथा बहुक्षेत्रीय विकास साझेदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।


प्रकाशित : बिहीबार , माघ २९ २०८२१७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend