काठमाडौं- रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा १३ करोड ७४ लाख ३५ हजार ४ सय १४ रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीद्वारा बिहीबार सार्वजनिक दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको सञ्चालन नाफा ३२ करोड ९८ लाख ४८ हजार ३ सय ४५ रहेको छ।
रिलायन्सको दोस्रो त्रैमासमा कुल आम्दानी ४ अर्ब ७९ करोड २ लाख ९१ हजार १ सय ६३ रुपैयाँ र खर्च ४ अर्ब १९ करोड ९ लाख १ हजार ८१ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ बढेर ४९०.५४ रुपैयाँ पुगेको छ।
हालैमात्र प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातमूलक कम्पनी रिलायन्स स्पिनिङ मिल्सको सेयर पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। कम्पनीमा २१ हजार ८०७ जना सेयरधनी रहेका छन्। सेयर बाँडफाँट कार्य सम्पन्न भएपश्चात रिलायन्सको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरणको प्रक्रियामा रहेको छ।
तीन दसकअघि स्थापित रिलायन्स स्पिनिङ मिल्सले सुनसरीको सुनसरीको दुहबी र खनारमा रहेका उद्योगमार्फत कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ। उद्योगका उत्पादनहरु नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ।
कम्पनीमा ४ हजारभन्दा बढी जनशक्ति कार्यरत रहेका छन्। मजदूरमैत्री पहिचान बनाएको रिलायन्समा करिब १ हजार ३ सय महिला छन्।