काठमाडौं- जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीव्र गतिमा मतपत्र छपाइ कार्य अघि बढाएको छ। केन्द्रले हाल दैनिक १५ लाखका दरले मतपत्र छपाइ गरिरहेको जनाएको छ।
केन्द्रका अनुसार प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बुधबारसम्म एक करोड ५३ लाख थान मतपत्र छपाइ सम्पन्न भइसकेको छ। सुरुमा दैनिक १३ लाखका दरले छपाइ हुँदै आएकामा पछिल्लो समय क्षमता वृद्धि गरी दैनिक १५ लाख मतपत्र छाप्न थालिएको हो।
हाल करिब ५० लाख मतपत्र छपाइ बाँकी रहेको जनाउँदै केन्द्रले शुक्रबार साँझसम्म सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जनाएको छ। प्राविधिक तथा व्यवस्थापकीय कारणले केही ढिलाइ भए पनि ढिलोमा शनिबारसम्म छपाइ कार्य सकिने केन्द्रको भनाइ छ।
उम्मेदवार संख्या धेरै भएका जिल्लामा ठूलो आकारको तथा उम्मेदवार कम भएका जिल्लामा सानो आकारको मतपत्र छाप्नुपर्ने व्यवस्था रहेकाले छपाइ प्रक्रियामा समय व्यवस्थापन चुनौतीपूर्ण बनेको केन्द्रले जनाएको छ।
यसअघि केन्द्रले समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरिसकेको छ। साथै, १० लाख नमूना मतपत्र निर्वाचन आयोगलाई उपलब्ध गराइएको र आयोगले ती विभिन्न स्थानमा वितरण गरिसकेको छ।
प्रत्यक्षतर्फ छापिएका मतपत्र आज बिहीबारदेखि जिल्लामा पठाउन सुरु गरिने केन्द्रले जनाएको छ। दुर्गम जिल्लालाई प्राथमिकतामा राख्दै वितरण थालिएको र फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पुर्याइसक्ने लक्ष्य राखिएको छ।