शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २८ २०८२
समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन

कोषका प्राविधिकले २४ सै घण्टा समस्याग्रस्त वन्यजन्तुको निगरानी गरिरहेका छन् भने सल्यानमा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन तीन ठाउँमा ‘बेट’ राखिएको छ।

काठमाडौं- राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर ट्र्याक गर्न र नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन गरेको छ।

एनटीएनसीले अहिले तीन जिल्लाका विभिन्न क्षेत्रमा समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर ट्रयाक गर्न र नियन्त्रणमा लिन प्रत्यक्ष रूपमा टोली खटाएको सदस्य सचिव डा नरेश सुवेदीले जानकारी दिए।

'कोषको बर्दियास्थित कार्यालयबाट खटिएका उद्धार टोली कर्णाली र लुम्बिनी प्रदेशमा छन्,' उनले भने।

उद्धार टोली बर्दियाको बारबर्दिया र गुलरिया क्षेत्र, सल्यानको कालिमाटी र दैलेखको भैरवी गाउँपालिकामा केन्द्रीत छन्। वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र स्थानीय प्रशासनसँगको समन्वयमा टोलीले काम गरिरहेको उनले बताए।

कोषका प्राविधिकले २४ सै घण्टा समस्याग्रस्त वन्यजन्तुको निगरानी गरिरहेका छन् भने सल्यानमा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन तीन ठाउँमा ‘बेट’ राखिएको छ। बर्दियामा चितुवा नियन्त्रणका लागि उद्धार खोर तयारी अवस्थामा राखिएको छ। दैलेखमा बँदेलको द्वन्द्व व्यवस्थापनका लागि प्रयास भइरहेको सदस्य सचिव डा सुवेदीले बताए। 

केही समययता सल्यानमा बाघ र दैलेखमा बँदेलको आक्रमणबाट मानवीय क्षति र घाइते भएका घटना सार्वजनिक भएपछि यो रेस्क्यू अपरेसन सुरु भएको हो। बारबर्दियामा चितुवाले पशुचौपाया र स्थानीयमाथि आक्रमण गरेको खबर आउन थालेपछि वन मन्त्रालय र निकुञ्ज प्रशासनसँगको समन्वयमा कोषको टोली खटिरहेको छ।

दुई महिनायता मात्रै प्रविधिक टोलीले टीकापुर र बलापुरबाट दुईवटा चितुवाको उद्धार र एउटा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएको छ। रासस


प्रकाशित : बुधबार, माघ २८ २०८२१७:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend