काठमाडौं- नेपाल उद्योग परिसंघ र राष्ट्रिय तथ्यांक कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, २०८२ केन्द्रित अन्तरक्रिया आयोजना गरिएको छ। सो अवसरमा तथ्यांक कार्यालय र परिसंघबीच समझदारी (एमओयू) गरी अध्ययन र तथ्यांक विश्लेषणमा सहकार्य गर्ने सहमतl भएको छ।
कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख ढुण्डीराज लामिछानेले राष्ट्रिय आर्थिक गणना २०८२ मा निजी क्षेत्रको आशंका निवारण गर्दै तथ्यांक ऐन २०७९ अनुसार तथ्यांकको पूर्ण गोपनीयता कायम गरिने बताए।
उद्योगी व्यवसायीहरूको विवरणको सुरक्षाप्रति संवेदनशील रहेको बताउँदै उनले यो गणना कसैलाई करको दायरामा ल्याउन वा दण्डित गर्न नभइ मुलुकको वास्तविक आर्थिक सूचकहरू तयार गरी अनुसन्धान र नीति निर्माण गर्ने प्रयोजनका लागि रहेको बताए।
'निजी क्षेत्रको सहभागिता बिना यो अभियान सफल हुन सक्दैन। त्यसैले हामी परिसंघ जस्ता संगठित संस्थाहरूसँग घनिभूत सहकार्य गर्न चाहन्छौँ' उनले भने।
राष्ट्रिय आर्थिक गणना, २०८२ मूल नारा 'अर्थतन्त मापनको लागि आर्थिक गणना' रहेको कार्यालयले जनाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक डा. वेदप्रसाद ढकालले राष्ट्रिय आर्थिक गणना, २०८२ सम्बन्धी प्रस्तुतिकरण गर्दै आर्थिक गणना अनौपचारिक अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउने, अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउनुलगायत रहेको बताए।
परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले निजी आर्थिक गणना तथ्यांक संकलनमा परिसंघले नेतृत्वदायी भूमिका खेल्ने बताए। सही तथ्यांक आए मात्र उद्योगी र सरकार दुवैलाई योजना बनाउन सहज हुने हुँदा निजी क्षेत्र यस प्रक्रियामा जोडिनुपर्ने बताए।