शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

सुक्खा बन्दरगाहमा ६ महिनामा ५७२ रेल्वे र्‍याकमार्फत सामान भित्रियो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २८ २०८२
सुक्खा बन्दरगाहमा ६ महिनामा ५७२ रेल्वे र्‍याकमार्फत सामान भित्रियो

एकपटकमा रेल्वे र्‍याकमार्फत ४० फुट क्षमताका ४५ कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ भने २० फुट क्षमताको भने ९० वटा कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ।

पर्सा- वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खा बन्दरगाहमा चालु आर्थिक वर्षको ६ महिनामा ५७२ रेल्वे र्‍याकमार्फत मालवस्तु तथा सामान भित्रिएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीका अनुसार भारतीय रेल्वे सेवामा देखापरेको 'हल्टेज'को समस्याको कारणले चालु आर्थिक वर्षमा रेल्वे र्‍याक आउने क्रममा केही गिरावट आएको छ।

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा १६ कम रेल्वे र्‍याकमार्फत वस्तु तथा सामान भित्रिएका छन्।

गत आर्थिक वर्षको ६ महिनामा भने ५८८ रेल्वे र्‍याकमार्फत वस्तु तथा सामान भित्रिएको थियो। वीरगञ्जको सुुक्खाबन्दरगाहमा भारतको कोलकत्ता र हल्दिया पोर्ट र विशाखापटनम लगायतका बन्दरगाहबाट रेलमार्फत मालसमान ल्याउने गरिन्छ।

एकपटकमा रेल्वे र्‍याकमार्फत ४० फुट क्षमताका ४५ कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ भने २० फुट क्षमताको भने ९० वटा कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ।

नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेल्वे र्‍याकमार्फत हुने आयातमा १६ वटा रेल्वे र्‍याकमार्फत कमी आएको बताए।

चालु आर्थिक वर्षको साउनमा ९४ र्‍याक, भदौमा ९० र्‍याक, असोजमा १०१ र्‍याक, कात्तिकमा ९१ र्‍याक, मंसिरमा ९२ र्‍याक र पुस महिनामा १०४ रेल्वे र्‍याकमार्फत वस्तु तथा सामान ल्याइएको थियो।

गत आर्थिक वर्षको साउनमा ९९ रेल्वे र्‍याक, भदौमा १०२ वटा, असोजमा ११० वटा, कात्तिकमा ७९ वटा, मंसिरमा ९० र पुसमा १०८ रेल्वे र्‍याकमार्फत वस्तु तथा सामान भित्र्याइएको थियो। सुक्खा बन्दरगाहमा विशेषगरी स्पन्ज आइरन,रासायनिक मलखाद, जिप्सन तथा फलाम, कोइलालगायतका आयात गर्ने गरिन्छ।

यहाँको वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापन गर्ने प्रिष्टिन भ्यालीका 'अपरेसन इञ्चार्ज' अभिषेक मिश्रले भारतीय रेल्वे प्रणालीमा विगत दुई महिनाअघि देखिएको समस्या अहिले विस्तारै कम हुँदै गइरहेको बताए।

'केही महिनाअघिसम्म भारतको विहार राज्यमा निर्वाचन र चाडपर्वको कारणले पनि रेलसेवा केही प्रभावित भएको थियो,' उनले भने, 'अहिले रेलसेवा केही सहज भइरहेको छ।'

उनले कोलकोत्ताबाट मालबाहक सामान बोकेको रेल्वे र्‍याक वीरगञ्जसम्म आइपुग्न करिब आठ दिन लाग्ने र विशाखापटनमबाट भने करिब १० दिन लाग्ने दाबी गरे। रासस


प्रकाशित : बुधबार, माघ २८ २०८२१२:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend