काठमाडाैं- एपोलो हाइड्रोपावर लिमिटेडले आगामी फागुन ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले आफ्नो ५७ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात् १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि सेयर खुला गर्न लागेको हो।
स्थानीय बासिन्दाका लागि छुट्याइएको ४ लाख ७० हजार कित्ता सेयरलाई प्रभावित क्षेत्रको आधारमा तीन भागमा बाँडिएको छ। जसअनुसार उच्च प्रभावित क्षेत्र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का बासिन्दाले ५० प्रतिशतसेयर पाउनेछन्। मध्यम प्रभावित क्षेत्रका रूपमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दालाई ३० प्रतिशत सेयर छुट्याइएको छ। बाँकी २० प्रतिशत सेयर न्यून प्रभावित क्षेत्रका रूपमा रहेका रामेछापको उमाकुण्ड वडा नं. २ र गोकुलगंगा वडा नं. १ का बासिन्दाका लागि सुरक्षित गरिएको छ।
यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९४ हजार कित्ता सेयर निष्कासन गरिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने स्थानीयले अधिकतम ४७ हजार र वैदेशिक रोजगारीमा रहेकाले अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाहरूका लागि आवेदन दिने म्याद छिटोमा फागुन १४ गते र स्थानीयका लागि फागुन २५ गतेसम्म तोकिएको छ।
कम्पनीले ओखलढुङ्गामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसको प्रतिमेगावाट लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ रहेको छ। केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ रेटिङ दिएको छ, जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ। हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको यस निष्कासनमा स्थानीयले तोकिएका संकलन केन्द्रबाट र वैदेशिक रोजगारीमा रहेकाहरूले सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।