काठमाडाैं- पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आगामी फागुन १२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
उद्योग प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै सेयर बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन खुला गर्न लागेको हो।
कम्पनीले आफ्नो कुल ३ अर्ब ७५ करोड रुपैयाँ जारी पुँजीको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर बिक्री गर्ने अनुमति पाएको थियो। यसमध्ये स्थानीयका लागि १८ लाख ७५ हजार कित्ता, वैदेशिक रोजगारीमा रहेकाहरूका लागि ५ लाख ६२ हजार ५०० कित्ता, सामूहिक लगानी कोषका लागि २ लाख ८१ हजार २५० कित्ता र कर्मचारीहरूका लागि २ लाख ८१ हजार २५० कित्ता सेयर छुट्याइएको छ। अब बाँकी रहेको ४५ लाख कित्ता साधारण सेयर प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणले खरिद गर्न पाउनेछन्।
लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्काशन प्रक्रिया छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गतेसम्म कायम रहनेछ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यस कम्पनीलाई 'आईआरएन डबल बी प्लस' इस्यूअर रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको यस आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका साथै ‘मेरो सेयर’ अनलाइनमार्फत सहजै आवेदन दिन सक्नेछन्।