काठमाडाैं- रिज लाइन इनर्जी लिमिटेडले आज माघ २८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि प्राथमिक सेयर निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशतले हुन आउने २६ करोड ७ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ११ लाख ८५ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ४२ हजार २०० कित्ता सेयर बाँडफाँट गरिसकिएको छ।
दोस्रो चरणको प्रक्रियामा कम्पनीले कुल ११ लाख ८० हजार २६० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ। यसअघि कर्मचारीहरूका लागि २८ हजार ४४० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ७१ हजार १०० कित्ता सेयर सुरक्षित गरिएको थियो। लगानीकर्ताले प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्कासन छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गते बैंकिङ समयपछि बन्द हुनेछ।
कम्पनीको वित्तीय विश्वसनीयतालाई ध्यानमा राख्दै केयर रेटिङ नेपालले यसलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। यस आईपीओको बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू वा मेरो सेयर अनलाइनमार्फत सहजै आवेदन दिन सक्नेछन्।