काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै वित्तीय क्षेत्र सुधारमा विभिन्न योजना प्रस्तुत गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।
पार्टीले भनेको छ, 'देशमा बैंकमा थुप्रै रकम प्रयोगविहीन अवस्थामा रहेको, वित्तीय साधन केही सीमित घरानामा मात्र केन्द्रित रहेको, आम नागरिकको कर्जा, बीमा र पुँजीबजारमा पहुँच कमजोर रहेको अवस्था सुधार गर्नुपर्ने छ।'
योजनाअनुसार पुँजी बजारमा सर्वसाधारणको पहुँच र सहभागिता बढाइनेछ। बैंकहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिनेछ। जनताबाट संकलित निक्षेप सीमित घरानामा मात्र केन्द्रित हुने अवस्था हटाउन मझौला र साना कर्जाको लक्ष्य निर्धारण गरिने उल्लेख छ।
साथै वित्तीय प्रणालीमा सुशासन प्रवर्द्धन गर्न नीति-नियम कडाइका साथ पालन गराइने, उल्लंघन गर्नेहरूलाई जरिवाना र सजाय गरिने व्यवस्था राखिएको छ। हरेक स्थानीय तहमा बीमा सेवा सहज रूपमा उपलब्ध गराइने उल्लेख छ।
सहकारी क्षेत्रको पुनरुत्थानका लागि विशेष प्याकेज ल्याइनेछ, जसले प्रभावित संस्थाका बचतकर्तालाई न्यूनतम तोकिएको साँवा फिर्ता दिने ग्यारेन्टी दिने जनाइएको छ। परम्परागत बैंकिङ, बीमा, लगानी, ऋण, बचत र भुक्तानी प्रणालीलाई फिनटेक अवधारणाअनुरूप डिजिटल माध्यमबाट सरल, छरितो र पारदर्शी बनाइने उल्लेख छ।
पार्टीले वित्तीय सुधारको यस योजनाले पुँजी बजारलाई प्राथमिकतामा राख्दै उत्पादनमूलक लगानी र रोजगारी सिर्जनामा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।