काठमाडौं- सेयर बजार परिसूचक नेप्सेमा साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि गिरावट आएको छ। आइतबारदेखि दैनिक घटिरहेको नेप्से परिसूचकमा मंगलबार पनि यो क्रमले निरन्तरता पाएको हो।
मंगलबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ बिन्दुमा ओर्लिएको छ। यस्तै आज सेन्सेटिभ इन्डेक्स १.२६ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५६ अंकले घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। मंगलबार ३२४ स्टकको ८९ हजार ८३६ पटकको कारोबारमा ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँबराबरको २ करोड १७ लाख १५ हजार कित्ता सेयर किनबेच भएको छ। सोमबार १० अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर खरिद-बिक्री भएको थियो।
आज कालिञ्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशतले बढेको छ। त्यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ भने आरबीबी फोकस ४० को इकाइमूल्य ४ प्रतिशतले बढेको छ। कारोबारमा आएकामध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ५.२४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी नै शीर्ष स्थानमा छ। आज यस कम्पनीको ४५ करोड २८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै आज आँखुखोला जलविद्युत कम्पनीको ४० करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम ३८ करोड ५० लाख रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको घटेको छ। आज म्युचुअल फन्ड र व्यापार उपसमूहको परिसूचक सामान्यले बढेको हो। विकास बैंक उपसमूहको परिसूचकमा सर्वाधिक १.१५ प्रतिशतको गिरावट आएको छ।