शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

नेपालमा लगानीका लागि कतारले खोज्यो नीतिगत सुधारको स्पष्ट 'रोडम्याप'

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २७ २०८२
नेपालमा लगानीका लागि कतारले खोज्यो नीतिगत सुधारको स्पष्ट 'रोडम्याप'

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीले कतारी निजी क्षेत्रको नेपालमा लगानीप्रति चासो रहेको उल्लेख गर्दै बैंकिङ, पर्यटन, सूचना प्रविधि, जनशक्ति विकासका विविध क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताए।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल भ्रमणमा आएको कतारी प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ।

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीको नेतृत्वको प्रतिनिधिमण्डल र गभर्नर पौडेलबीचको भेटवार्तामा नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानूनी व्यवस्था, बैंकिङ प्रणाली तथा लगानी सम्भावनाका विषयमा छलफल भएको थियो।

उक्त अवसरमा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको सहभागिता थियो।
कतारी प्रतिनिधिमण्डलले नेपालमा स्थिर नीति, स्पष्ट कानूनी संरचना र बैंकिङ सहजीकरण भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको बताए।

छलफलका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलले नेपालमा वैदेशिक लगानीका लागि उपलब्ध नीतिगत व्यवस्थाबारे जानकारी गराउँदै नेपालले वैदेशिक लगानीलाई प्राथमिकतामा राख्दै नीतिगत सुधारलाई निरन्तर अघि बढाइरहेको जानकारी दिए।

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीले कतारी निजी क्षेत्रको नेपालमा लगानीप्रति चासो रहेको उल्लेख गर्दै बैंकिङ, पर्यटन, सूचना प्रविधि, जनशक्ति विकासका विविध क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताए। उनले लगानीका लागि स्पष्ट रोडम्याप भए नेपालमा कतारी लगानी भित्र्याउन सकिने धारणा राखे।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानी सहजीकरणका लागि महासंघले सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै कतारी लगानी नेपाल भित्र्याउन सकिने ठोस सम्भावना रहेको धारणा राखे। उनले निजी क्षेत्र-निजी क्षेत्र सहकार्य, सरकार-निजी क्षेत्र संवाद र संस्थागत संयन्त्रमार्फत लगानी प्रक्रिया सहज बनाउन महासंघ प्रतिबद्ध रहेको बताए। 


प्रकाशित : मंगलबार, माघ २७ २०८२१४:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend