काठमाडाैं- सानिमा माई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार कम्पनीको खुद नाफामा गत वर्षको तुलनामा ५३.०६ प्रतिशतको गिरावट देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस कम्पनीले यस वर्ष जम्मा १२ करोड ५६ लाख रुपैयाँ मात्र नाफा कमाउन सफल भएको छ।
असोज महिनाको बाढी र पहिरोले २२ मेगावाटको माई हाइड्रोपावर र ७ मेगावाटको माई क्यास्केड दुवै आयोजनाको उत्पादन असोज १८ गतेदेखि नै ठप्प हुन पुगेको थियो।आयोजनाको हेडवर्क्स संरचनामा पुगेको क्षतिका कारण विद्युत उत्पादन बन्द हुँदा कम्पनीको विद्युत बिक्री आम्दानी पनि ४३ करोड ६१ लाख रुपैयाँबाट घटेर ३३ करोड ३१ लाख रुपैयाँमा झरेको छ।
हाल आयोजनाको मर्मत सम्भार कार्य धमाधम भइरहेको र फागुनको पहिलो सातादेखि पुनः संचालनमा आउने लक्ष्य राखिएको कम्पनीले जानकारी गराएको छ। कम्पनीको प्रतिसेयर आम्दानी १५.९३ रुपैयाँबाट घटेर ८.८६ रुपैयाँमा सीमित हुन पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ कायम भएको छ।
वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब १७ करोड ४४ लाख रुपैयाँ संचित छ। कम्पनीको मूल्य आम्दानी अनुपात ६२.३१ गुणा रहेको छ।