शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

खाद्यान्नमा मिसावट गरेको अभियोगमा १९ जना व्यापारीविरुद्ध मुद्दा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २७ २०८२
खाद्यान्नमा मिसावट गरेको अभियोगमा १९ जना व्यापारीविरुद्ध मुद्दा

कार्यालयकी प्रमुख विनिता पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा गरिएको अनुगमन तथा संकलित नमुनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको छ।

काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावट गरेको अभियोगमा १९ जना व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ। सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा संकलित नमुनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा ती व्यवसायीविरुद्ध मुद्दा दायर गर्न लागिएको हो।

कार्यालयकी प्रमुख विनिता पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा गरिएको अनुगमन तथा संकलित नमुनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको छ।

'कैफियतका आधारमा सरकारी वकिल कार्यालयहरूसँग समन्वय गरी मुद्दाको अनुसन्धान गरिरहेका छौँ,' उनले भनिन्, 'जेनजी आन्दोलनका कारण अदालतमा मुद्दा दर्ता हुन सकेको छैन, अब केही दिनभित्रै हामी मुद्दा दायर गर्छाैँ।' उक्त कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४४ जना व्यापारीविरुद्ध मुद्दा दायर गरेको थियो।

अनुगमनका क्रममा संकलन गरिएको नमुना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुने गरी मिसावट गर्ने, म्याद गुज्रेको सामान बिक्री गर्ने व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाका जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रमुख पोखरेलले जानकारी दिइन्। आर्थिक वर्ष २०८२/८३ को हालसम्म सो कार्यालयले २४५ नमुना विश्लेषण गर्दा २०० खानयोग्य र पाँचवटा होल्डमा राखिएको प्रमुख पोखरेलले बताइन्।

सो अवधिमा ३६५ नमुना परीक्षण गर्दा १६ नमुना प्रतिकूल देखिएकाले नियमानुसार कानूनी प्रक्रिया अघि बढाउने, पुनः जाँच गराई मापदण्डअनुरूप सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराई प्रतिबद्धता गर्न लगाइएको प्रमुख पोखरेलको भनाइ छ।

सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेवल विवरण नभएका, सडेगलेकालगायत अखाद्य भएका १ लाख २ हजार २६५ रुपैयाँबराबरको ३११ किलो वस्तुहरू जफत गरी नष्ट गरिएको प्रमुख पोखरेलले बताइन्।

हालसम्म १२१ खाद्यान्न बजार, १०० खाद्य तथा दाना उद्योग र ५६ वटा होटल तथा रेष्टुराँको निरीक्षण अनुगमन गरिएको जनाएको छ। सो कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म विभिन्न शीर्षकमा १० लाख ४ हजार ३७० रुपैयाँ राजस्व संकलन गरेको छ। रासस


प्रकाशित : मंगलबार, माघ २७ २०८२११:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend