काठमाडौं- विद्यालय अनुपात र शिक्षा सहभागितामा सन्तोषजनक सुधार देखिएपनि सिकाइको संकट भने नेपाली विद्यार्थीमा आधारभूत तहदेखि नै गहिरिँदै गएको छ। भविष्यको जग मानिने बालबालिका र उनीहरूको सिकाइको यो संकटले पूरै शिक्षाको गुणस्तरमा प्रभाव पारेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयको बहुसूचक क्लस्टर सर्वेक्षणअनुसार उमेरअनुसारको सिकाइमा नेपाली बालबालिका निकै कमजोर रहेको पाइएको छ। सर्वेक्षणअनुसार उमेरअनुसार ७ देखि १४ वर्षको उमेर समूहमा औसतभन्दा निकै तल रहेको छ।
उमेरअनुसारको सिकाइ कम्तिमा ६२ प्रतिशत विद्यार्थीले हासिल गरेको हुनुपर्ने भएपनि भाषा र अंकको सिकाइको स्तर योभन्दा निकै तल रहेको छ।
सर्वेक्षणअनुसार नेपाली बाबालिकामध्ये ३० प्रतिशतलेमात्र अंकको सिकाई उमेर अनुसारको हासिल गरेका छन्। बाँकी ७० प्रतिशतले यस्तो सिकाइ गर्न सकेका छैनन्।
अंकको सिकाइमा यो उमेर समूहमा अंकको पहिचान, भिन्नता र प्याटर्न पत्ता लागउने सिकाइको परीक्षण गरिन्छ। त्यस्तै जोड घटाउन पनि यो वृहत उमेर समूहमा अपेक्षित हुन्छ। तर ययस्तो सिकाईमा निकै कमजोर रहेको पाइएको छ।
अंकमात्र होइन भाषाको सिकाइको स्तर पनि निकै कमजोर छ। शब्द चिन्ने, बाक्यको बाचन गर्नसक्ने क्षमताको परीक्षण यसमा गरिन्छ। ७ देखि १४ वर्षको उमेर समूहमा उमेरगत सिकाइको स्तर निराशाजनक छ। यसमा पनि ३७ प्रतिशतलेमात्र यसको सिकाइमा सफल भएका छन्।
सिकाइको यो संकटमा पनि असमानता छ। गाउँ सहर, सरकारी निजीमा पनि यसको चरम विभेद छ। आम्दानी तथा परिवारमा साक्षरताको स्तरले पनि यस्तो सिकाइलाई प्रभावित बनाएको छ।
जस्तो काठमाडौं उपत्यकामा हुनेहरूमा ५० प्रतिशतले भाषाको सिकाइ उमेरगत न्यूनतम थ्रेसहोल्ड पार गर्ने ५० प्रतिशत छन् भने मधेश प्रदेशमा १२ प्रतिशतमात्र छन्।