काठमाडौं- सौर्य ऊर्जा क्षेत्रमा सक्रिय कम्पनी पियोर इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिसम्म ९२ लाख २८ हजार ९१६ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८३.२३ प्रतिशतले बढि हो। गत वर्षको पुस मसान्तसम्म कम्पनीको खुद नाफा २४ लाख ८ हजार २५० रुपैयाँ रहेको थियो।
कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि स्थिरता कायम गरेको छ। यस त्रैमाससम्ममा कम्पनीले विद्युत महसुलबाट ११ करोड ६१ लाख १३ हजार ८२९ रुपैयाँ संकलन गरेको छ। यो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.७७ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट १२ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको थियो।
८० करोड रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २.३१ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा ईपीएस ०.७५ रुपैयाँ मात्र थियो। यसैगरी कम्पनीको प्रतिसेयर नेटवर्थ १०१.६३ रुपैयाँ कायम भएको छ।