काठमाडौं- रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सर्वोत्तम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ५४ करोड रुपैयाँ सञ्चालन आम्दानी आर्जन गरेको छ। यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको हो।
सिमेन्ट उद्योगमा मागको चक्रियता र तीव्र प्रतिस्पर्धाबीच पनि कम्पनीले आफ्नो बजार हिस्सा विस्तार गर्दै आम्दानी बढाउन सफल भएको इक्राको विश्लेषण छ।
चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवातकै चरणमै पनि कम्पनीको कारोबार सुदृढ देखिएको छ। चालु वर्षको पहिलो तीन महिनामै सर्वोत्तम सिमेन्टले करिब १ अर्ब ९८ करोड रुपैयाँ सञ्चालन आम्दानी आर्जन गरेको प्रारम्भिक विवरण इक्रा नेपालले सार्वजनिक गरेको छ। त्रैमासिक आम्दानीको यो स्तर कायम रहन सके वार्षिक कारोबार थप विस्तार हुने संकेत देखिएको छ।
नाफातर्फ पनि कम्पनीको प्रदर्शन बलियो देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा सर्वोत्तम सिमेन्टले १ अर्ब २ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै कम्पनीले ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको इक्रा नेपालले जनाएको छ।
‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’बाट हटाइयो
रेटिङ एजेन्सी इक्रा नेपालले सर्वोत्तम सिमेन्ट लिमिटेडको रेटिङ पुनः पुष्टि गर्दै यसअघि राखिएको ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’बाट हटाएको छ। सार्वजनिक रेटिङ कार्यअनुसार कम्पनीको वित्तीय अवस्था, नगद प्रवाह र ऋण सेवा क्षमतामा उल्लेखनीय सुधार देखिएपछि रेटिङ स्थिर गरिएको इक्रा नेपालले जनाएको छ।
इक्राका अनुसार सर्वोत्तम सिमेन्टको दीर्घकालीन ऋण सीमासम्बन्धी इश्यूअर रेटिङ (आईक्रा एनपी–आईआर) बीबीबी स्तरमै पुनः पुष्टि गरिएको छ। त्यस्तै, बैंक कर्जातर्फ ९१ करोड ७० लाख रुपैयाँको दीर्घकालीन ऋण सीमा (आईक्रा एनपी) एलबीबीबी स्तरमा तथा ६ अर्ब ७ करोड रुपैयाँको अल्पकालीन ऋण सीमा (आईक्रा एनपी) ए थ्री प्लस स्तरमा पुनः पुष्टि गरिएको छ। यससँगै कम्पनीको कुल रेटेड ऋण सीमा ६ अर्ब १६ करोड १७ लाख रुपैयाँ पुगेको छ।
यसअघि लगाएको ‘नेगेटिभ वाच’ हटाउनुको मुख्य कारण कम्पनीको आम्दानी, नाफा तथा ऋण सेवा क्षमतासम्बन्धी सूचकहरूमा देखिएको उल्लेखनीय सुधार रहेको जनाएको छ।
ऋण सेवा क्षमतामा उल्लेखनीय सुधार
कम्पनीको सञ्चालन नाफा सूचक (ओपीबीडीआईटीए) आर्थिक वर्ष २०८१/८२ मा १८ प्रतिशत पुगेको छ, जुन अघिल्ला वर्षको तुलनामा सुधार हो। चालु वर्षको पहिलो तीन महिनामा यो अनुपात २४ प्रतिशत पुगेको छ, जसले लागत व्यवस्थापन र मूल्य सन्तुलनमा सुधार देखिएको संकेत गर्छ।
ऋण सेवा क्षमतासम्बन्धी सूचकहरूमा पनि उल्लेखनीय सुधार देखिएको छ। ब्याज भुक्तानी क्षमता (इन्टरेस्ट कभरेज) आर्थिक वर्ष २०८१/८२ मा ५.८ गुणा पुगेको छ भने चालु वर्षको पहिलो त्रैमासमा ७.२५ गुणा पुगेको छ। त्यस्तै ऋण सेवा कभरेज अनुपात (डीएससीआर) पनि ४.७७ गुणा पुगेको छ, जसले कम्पनीको नगद प्रवाह सुदृढ बन्दै गएको पुष्टि गर्छ।
कम्पनीको कुल ऋण र मूर्त नेटवर्थको अनुपात ०.३९ गुणामा सीमित रहेको छ, जसले वित्तीय लिभरेज न्यून र पुँजी संरचना सन्तुलित रहेको देखाउँछ।
इक्राले सहायक कम्पनी एसएचएलसहितको समेकित वित्तीय अवस्थासमेत विश्लेषण गरेको छ। समेकित रूपमा हेर्दा आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी १४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ भने खुद नाफा १ अर्ब ३१ करोड रुपैयाँ नाघेको छ। ऋण सेवा क्षमता, नाफा तथा पुँजी प्रतिफल सूचकहरूमा उल्लेखनीय सुधार देखिएको इक्राको निष्कर्ष छ।