काठमाडौं- नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५० हजार ५०० रुपैयाँ जरिवाना गरेको छ।
स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले राजेन्द्र राइस मिललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कारबाही गरेको हो।
यस्तै स्वस्तिक नेपाल ट्रेडिङ प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागले आइतबार काठमाडौं र ललितपुरका २१ वटा फर्ममा अनुगमन गरेको थियो। स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहकार्यमा विभागले स्थलगत अनुमगन गरेको हो। विभागले अनुगमन गरेका फर्ममध्ये २० वटालाई भने सुधारात्मक निर्देशन दिएको छ। रासस