शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बैंकले ऋण लगानी नगर्दा पनि घरजग्गा कारोबारमा उत्साह, फागुनमै ७४ हजार घरजग्गा किनबेच

मंगलबार, चैत १ २०७८
बैंकले ऋण लगानी नगर्दा पनि घरजग्गा कारोबारमा उत्साह, फागुनमै ७४ हजार घरजग्गा किनबेच

काठमाडौं- घरजग्गा कारोबारमा साउनयताकै रेकर्ड बनेको छ। माघ महिनासम्म सुस्ताएको घरजग्गा कारोबार फागुनमा चम्किएको हो। बैंकहरूले ऋण लगानी नगर्दा पनि फागुनमा घरजग्गा कारोबार बढेको हो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले दिएको तथ्यांकअनुसार फागुनमा ७४ हजार ३६ घरजग्गा किनबेच भएको छ। माघ महिनामा जम्मा ५९ हजार ५ सय १६ वटा मात्रै घरजग्गा किनबेच भएको थियो। फागुनमा माघको तुलनामा लिखत पारित १४ हजार ५२० ले बढेको छ।

यसअघि कात्तिकमा ५० हजार घरजग्गा किनबेच भएको थियो। पुस महिनामा ७० हजार १ सय ६८ घरजग्गा किनबेच भएको थियो।बैंकहरूमा तरलता अभाव भएपछि घरजग्गा कारोबारमा मन्दी आएको थियो। लगानी गर्ने ठाउँ नपाउँदा लगानीकर्ताहरूले घरजग्गामा लगानी बढाउन थालेका छन्। जसका कारण फागुनमा कारोबार बढेको हो। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत झनै कडाइ गरेता पनि कारोबार बढेको हो। 

सबैभन्दा धेरै किनबेच हुने पूर्वी क्षेत्रमा भने घरजग्गा कारोबारमा मन्दी आएको छ। काठमाडौं उपत्यकामा ८ हजार ५ सय १८ वटा मात्रै घरजग्गा कारोबार भएको छ। पुस महिनामा ८ हजार ३ सय ८७ वटा किनबेच भएको थियो। बैंकमा तरलता अभावसँगै गत साउनदेखि नै घरजग्गा कारोबारमा मन्दी आएको थियो। बैंकहरूले ऋण लगानी गर्न छाडेपछि असर घरजग्गा कारोबारमा परिरहेको हो।

फागुन महिनामा सेवा कर २ अर्ब ३३ करोड संकलन भएको छ। कात्तिकमा ३ अर्ब २२ करोड, मंसिरमा, ४ अर्ब २२ करोड, पुसमा ४ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। माघमा ३ अर्ब ३२ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ।

फागुनमा पुँजीगत लाभकर १ अर्ब ९६ करोड रुपैयाँ संकलन भएको छ। माघ महिनामा १ अर्ब २६ करोड पुँजीगत लाभकर संकलन भएको थियो। 


प्रकाशित : मंगलबार, चैत १ २०७८०६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend