आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

पुनः सञ्चालनमा आयो कोटेश्वर भाटभटेनी

शनिबार, माघ २४ २०८२
पुनः सञ्चालनमा आयो कोटेश्वर भाटभटेनी

आगलागीबाट क्षति भएको सुपरमार्केटको सञ्चालनका लागि सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले गएको साता पूजाआजा गरेका थिए।

काठमाडौं- जेनजी प्रदर्शनका क्रममा आगजनी र लुटपाटबाट क्षति भएको कोटेश्वरको भाटभटेनी पुनर्निमाण गरी पुन: सञ्चालनमा आएको छ। आज शनिबारदेखि स्टोर सञ्चालनमा आएको हो।

आगलागीबाट क्षति भएको सुपरमार्केटको सञ्चालनका लागि सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले गएको साता पूजाआजा गरेका थिए। 

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडलका अनुसार हालैको घटनाबाट प्रभावित भए तापनि भाटभटेनी सुपरमार्केटले आफ्ना कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूको सहयोग र विश्वासका कारण छिटो पुनःउत्थानको मार्गमा अघि बढ्न सफल भएको छ।

कोटेश्वरको भाटभटेनीसँगै दुई हप्तापछि महाराजगञ्जको स्टोर पनि सञ्चालनमा आउने तयारी भइरहेको भाटभटेनीले जनाएको छ। जेनजी आन्दोलनका क्रममा क्षति पुगेका अन्य स्टोरहरू पनि पुनर्निर्माण भइ सञ्चालनमा आउने क्रममा छन्।

गएको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंसहित देशभरका भाटभटेनीका २८ स्टोरमध्ये २१ स्टोरमा क्षति पुगेको थियो।

आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २१ वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार आठ सय ५४ रुपैयाँबराबरको क्षति भएको देखिएको थियो। २१ मध्ये बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरूपमा आगजनी भएको थियो भने बाँकी ९ वटा स्टोरमा आंशिक क्षति पुगेको थियो।


प्रकाशित : शनिबार, माघ २४ २०८२०९:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend