काठमाडौं- अनुसन्धान र विकास (रिसर्च एन्ड डेभलपमेन्ट)मा हुने लगानीले नै नवीन प्रविधि र आविष्कार जन्माउँछ। जति धेरै अनुसन्धान र विकास लगानी गर्न सक्यो त्यति नै नयाँ र आधुनिक उत्पादन बजारमा ल्याउन सकिन्छ। कालान्तरमा त्यसले देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्छ।
सोही कारण विकसित देशहरुले र विकासमा लम्किरहेका देशहरुले अनुसन्धान र विकासका क्षेत्रमा हुने लगानी बढाउँदै लगेका छन्। २०२४ मा विश्वले अनुसन्धान र विकासमा २८ खर्ब ७० अर्ब अमेरिकी डलर खर्च गरेको थियो।
उक्त रकम मध्ये २०२४ मा अनुसन्धान र विकासमा सबैभन्दा धेरै चीनले खर्च गरेको छ। सो वर्ष चीनले अनुसन्धान र विकासमा ७ खर्ब ८५ अर्ब ९० करोड डलर खर्च गरेको हो। यो विश्वभर अनुसन्धान र विकासमा भएको कुल खर्चको २७.४ प्रतिशत हो।
२०२४ मा अनुसन्धान र विकासमा एकल देशले गर्ने खर्चमा अमेरिकालाई चीनले उछिनेको हो। लामो समयदेखि पहिलो स्थानमा अमेरिका नै रहँदै आएको थियो। २०२४ मा अमेरिकाले अनुसन्धान र विकासमा ७ खर्ब ८१ अर्ब ८० करोड डलर खर्च गरेको थियो। यो विश्वको कुल खर्चको २७.२ प्रतिशत हो।
अनुसन्धान र विकासमा चीनको लगानी पछिल्लो दुई दशकमा उल्लेख्य बढेको छ। २००० मा विश्वको कुल अनुसन्धान र विकास खर्चमा चीनको हिस्सा ४ प्रतिशत थियो। २०२४ मा यो बढेर २७.४ प्रतिशत पुगेको भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको थियो। क्यापिटालिस्टले उक्त तथ्यांक वल्र्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेसनले उपलब्ध गराएको तथ्यांमा आधारित भएर लेखेको हो।
यी हुन् अनुसन्धान र विकासमा धेरै खर्च गर्ने १० देश :
१. चीन- २०२४ मा चीनले अनुसन्धान र विकासमा ७ खर्ब ८५ अर्ब ९० करोड डलर खर्च गरेको थियो। यो विश्वको कुल अनुसन्धान र विकास खर्चको २७.४ प्रतिशत हो भने चीनको जीडीपीको २.७ प्रतिशत हो।
२. अमेरिका- २०२४ मा अमेरिकाले अनुसन्धान र विकासमा ७ खर्ब ८१ अर्ब ८० करोड डलर खर्च गरेको थियो। यो विश्वको कुल अनुसन्धान र विकास खर्चको २७.२ प्रतिशत हो भने अमेरिकाको जीडीपीको ३.५ प्रतिशत हो।
३. जापान- २०२४ मा जापानले अनुसन्धान र विकासमा १ खर्ब ८६ अर्ब डलर खर्च गरेको थियो। यो विश्वको कुल अनुसन्धान र विकास खर्चको ६.५ प्रतिशत हो भने जापानको जीडीपीको ३.५ प्रतिशत हो।
४. जर्मनी- २०२४ मा जर्मनीले अनुसन्धान र विकासमा १ खर्ब ३२ अर्ब २० करोड डलर खर्च गरेको थियो। यो विश्वको कुल अनुसन्धान र विकास खर्चको ४.६ प्रतिशत हो भने जर्मनीको जीडीपीको ३.१ प्रतिशत हो।
५. दक्षिण कोरिया- २०२४ मा दक्षिण कोरियाले अनुसन्धान र विकासमा १ खर्ब २६ अर्ब ४० करोड डलर खर्च गरेको थियो। यो विश्वको कुल अनुसन्धान र विकास खर्चको ४.४ प्रतिशत हो भने दक्षिण कोरियाको जीडीपीको ५.३ प्रतिशत हो।
६. बेलायत- २०२४ मा बेलायतले अनुसन्धान र विकासमा ८६ अर्ब ५० करोड डलर खर्च गरेको थियो। यो विश्वको कुल अनुसन्धान र विकास खर्चको ३ प्रतिशत हो भने बेलायतको जीडीपीको २.८ प्रतिशत हो।
७. भारत- २०२४ मा भारतले अनुसन्धान र विकासमा ७५ अर्ब ७० करोड डलर खर्च गरेको थियो। यो विश्वको कुल अनुसन्धान र विकास खर्चको २.६ प्रतिशत हो भने भारतको जीडीपीको ०.७ प्रतिशत हो।
८. फ्रान्स- २०२४ मा फ्रान्सले अनुसन्धान र विकासमा ६५ अर्ब ८० करोड डलर खर्च गरेको थियो। यो विश्वको कुल अनुसन्धान र विकास खर्चको २.३ प्रतिशत हो भने फ्रान्सको जीडीपीको २.२ प्रतिशत हो।
९. टर्की- २०२४ मा टर्कीले अनुसन्धान र विकासमा ४३ अर्ब २० करोड डलर खर्च गरेको थियो। यो विश्वको कुल अनुसन्धान र विकास खर्चको १.५ प्रतिशत हो भने टर्कीको जीडीपीको १.४ प्रतिशत हो।
१०. ब्राजिल- २०२४ मा ब्राजिलले अनुसन्धान र विकासमा ३८ अर्ब ४० करोड डलर खर्च गरेको थियो। यो विश्वको कुल अनुसन्धान र विकास खर्चको १.३ प्रतिशत हो भने ब्राजिलको जीडीपीको १.२ प्रतिशत हो।
चीन र अमेरिकाको संयुक्त अनुसन्धान र विकास खर्च विश्वको कुल खर्चको ५४.७ प्रतिशत रहेको छ। चीनमा अनुसन्धान र विकासको खर्च केन्द्रिकृत मोडलमा हुने गरेको छ। यस्तो रकम राज्यले प्राथमिकतामा राखेका क्षेत्र जस्तो उर्जा, बायोटेक तथा प्रविधिमा केन्द्रित छन्।
यता अमेरिकामा भने अनुसन्धान र विकासमा हुने लगानी निजी क्षेत्रले नै परिचालन गर्दै आएको छ। अमेजोन, अल्फाबेट तथा मेटालगायतले कर्पोरेट अनुसन्धान र विकासका लगानीकर्ता हुन्।
त्यस्तै तेस्रो धेरै अनुसन्धान र विकासमा लगानी गर्ने देश जापान हो। २००० यता जापानको अनुसन्धान र विकासमा हुने लगानी ७.२ प्रतिशत बिन्दुले घटेको छ। जापानको अनुसन्धान र विकास लगानी पनि टोयोटा, होन्डालगायत कर्पोरेट क्षेत्रले लिड गरिरहेको छ।