शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आशा लघुवित्तकाे नाफा ४३१ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २२ २०८२
आशा लघुवित्तकाे नाफा ४३१ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति?

गत वर्षको पुस मसान्तसम्म २ करोड ३६ लाख रुपैयाँ  नाफा कमाएको यस लघुवित्तले यो वर्षको समीक्षा अवधिमा १२ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

काठमाडाै‌ं- आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आकर्षक वित्तीय प्रगति हासिल गरेको छ। 

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा ४३१.५५ प्रतिशतको वृद्धि देखिएको छ। 

गत वर्षको पुस मसान्तसम्म २ करोड ३६ लाख रुपैयाँ  नाफा कमाएको यस लघुवित्तले यो वर्षको समीक्षा अवधिमा १२ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

गत वर्ष ३४ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी झण्डै १४ प्रतिशतले बढेर ३८ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी पनि १६ प्रतिशतले वृद्धि हुँदै ४७ करोड ४४ लाख रुपैयाँ कायम भएको छ।  कम्पनीको सञ्चालन नाफा १७ करोड ९१ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष ३ करोड ३६ लाख रुपैयाँमा सीमित थियो।

वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ। गत वर्ष ६.४५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले बढेर ३१.२९ रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १५८.०८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.२३ गुणा रहेको छ। ८० करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी भएको यस संस्थाको जगेडा तथा रिजर्भ कोषहरूमा कुल ४६ करोड ६१ लाख रुपैयाँ सञ्चित छ।

यद्यपि, कम्पनीको निष्क्रिय कर्जा भने केही चुनौतीपूर्ण देखिएको छ। गत वर्ष ४.९२ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर १०.१५ प्रतिशत पुगेको छ। व्यवसाय विस्तारतर्फ कम्पनीले हालसम्म १० अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने यसको कुल सम्पत्ति ११ अर्ब ७४ करोड रुपैयाँभन्दा माथि रहेको छ।


प्रकाशित : बिहीबार , माघ २२ २०८२११:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend