आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

अमेरिकी कम्पनी एन्थ्रोपिकको एआई मोडलले संसारभरका सफ्टवेयर कम्पनीको सेयरमा पहिरो

शुक्रबार, माघ २३ २०८२
अमेरिकी कम्पनी एन्थ्रोपिकको एआई मोडलले संसारभरका सफ्टवेयर कम्पनीको सेयरमा पहिरो

जुन काम ठूला कम्पनीले गर्दै आएका थिए त्यसलाई एउटा प्लगइनको माध्यमबाट यसले दिन थालेको छ।

काठमाडौं- विश्व बजारको अहिलेको संरचनामा एआईले कतिसम्म प्रभाव पार्छ भन्ने कुरा सत्यभन्दा बढी अनुमानमा आधारित त्रासले काम गरिरहेको छ।

रोजगारीमा व्यापक कटौती, अहिलेको संरचनामै उथुलपुथल ल्याउँछ भन्ने डर धेरै देखिँदै आएको छ। तर गएको तीन दिनदेखि विश्वभरका सफ्टवेयर तथा डेटा एनालिटिक्स कम्पनीको सेयरमा आएको व्यापक गिरावटले त्यो डर वास्तविकतामै परिणत भएको त होइन? प्रश्न उठिरहेको छ। 

अमेरिकादेखि भारतसम्मका सेयर बजारमा यस्ता कम्पनीको सेयरमा निराशाजनक गिरावट देखिएको छ। आकर्षक आम्दानी गर्दै आएका यी कम्पनीको सेयरमा लगानी उत्तिकै लाभदायक मानिँदै आएको थियो।

यस्ता कम्पनीको काम बिजनेस तथा सफ्टवेयरको विकास तथा प्रक्रियामा सहजीकरणको सेवा दिँदै आएका छन्। भारतको टीसीएस तथा इन्फोसिस जस्ता कम्पनी यो वर्गमा आउँछन्। बिजनेस प्रोसेसिङ तथा सफ्टवेयर विकास र मर्मतको काम यस्ता कम्पनीले गर्छन्। तर यी कम्पनीको महँगो सेवालाई सस्तो सेवा दिने एआई मोडल पछिल्लो समय बजारमा देखिएपछि सेयर मूल्यमा गिरावट देखिएको हो। 

अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले हालैमात्र ल्याएको एआई एजेन्ट मोडलले संसारभरका ठूला यस्ता कम्पनीको उपस्थितिलाई चुनौती दिएको छ। एन्थ्रोपिकको यो पछिल्लो मोडलले सस्तोमै सेवा दिनसक्ने देखिएको छ।

विशेषगरी कानूनी परामर्श सेवाको क्षेत्रमा यसले काम गर्न थालेको छ। जुन काम ठूला कम्पनीले गर्दै आएका थिए त्यसलाई एउटा प्लगइनको माध्यमबाट यसले दिन थालेको छ। यही कारणले गर्दा यस्ता कम्पनीको व्यापार घट्ने अनुमान गरेर लगानीकर्ताहरूले सेयर बिक्री गर्न थालेका हुन्।

बजारको यो पहिरोलाई रोक्नका लागि एनभीडीयाका सीईओदेखि अन्य प्रविधि क्षेत्रका हस्तीले थामथुमको प्रयास गरेका छन्। एआईले सफ्टवेयर कम्पनीको अस्तित्वमाथि चुनौती दिन नसक्ने उनीहरूको तर्क छ। तर पनि यसले बजारको पहिरो रोक्न सकेको छैन। एन्थ्रोपिकले सुरुवातमै धक्का दिएको छ भने भविष्यमा अझ धेरै अभ्यासबाट डेटामा हुने पहुँचले बजारमा उथुलपुथल नै ल्याउने ‍अनुमान गरिएको छ। 

यदि यसको मोडल बजारमा व्यापक सफल भयो भने यसले मिड लेभलसम्मका डेभलपर, कोडरदेखि परामर्शको क्षेत्रमा काम गर्नेहरूको उपस्थितिलाई चुनौती दिनेछ। यसबाट ठूलोमात्रामा रोजगारको संकट आउने अनुमान गरिएको छ। 


प्रकाशित : शुक्रबार, माघ २३ २०८२१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend