काठमाडौं- काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मंगलबार १ करोड ४ लाख ५३ हजार रुपैयाँबराबरको सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
प्रहरीले गए राति नागार्जुन नगरपालिका-६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो। उनको साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताए।
थापाका अनुसार उनले प्रहरीमाथि खुकुरी प्रहार गरेपछि प्रहरीले गोली चलाएको हो। अभियुक्तको खुट्टामा गोली लागेको छ। हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
घटनामा एक जना प्रहरी पनि घाइते भएका छन्। रासस