शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आईएमई लाइफको खुद बीमाशुल्क आर्जन ३६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २२ २०८२
आईएमई लाइफको खुद बीमाशुल्क आर्जन ३६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता?

सार्वजनिक विवरण अनुसार कम्पनीको नाफामा सामान्य सुधार देखिएको हो। कम्पनीले पुस मसान्तसम्म २७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत वर्षको सोही अवधिको २६ करोड ७८ लाख रुपैयाँको तुलनामा १.०४ प्रतिशतले बढी हो।

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरण अनुसार कम्पनीको नाफामा सामान्य सुधार देखिएको हो। कम्पनीले पुस मसान्तसम्म २७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत वर्षको सोही अवधिको २६ करोड ७८ लाख रुपैयाँको तुलनामा १.०४ प्रतिशतले बढी हो।

कम्पनीको खुद बीमाशुल्क आर्जन ३६.४५ प्रतिशतले बढेर ३ अर्ब १९ करोड २१ लाख रुपैयाँ पुगेको छ भने लगानी तथा कर्जाबाट प्राप्त हुने ब्याज पनि ७ प्रतिशतले वृद्धि भई ७१ करोड ५५ लाख रुपैयाँ नाघेको छ। यसरी कम्पनीको कुल आम्दानी ४ अर्ब १ करोड ४५ लाख रुपैयाँ पुग्दा कुल खर्च पनि ३० प्रतिशतले बढेर ३ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले व्यवसाय प्रवर्द्धनका लागि अभिकर्तालाई दिइने कमिसनमा २९ प्रतिशतले वृद्धि गरी २८ करोड ४२ लाख रुपैयाँ पुर्याएको छ भने कर्मचारीहरूको तलब र सेवा सुविधामा हुने खर्च पनि २२ करोड ७१ लाख रुपैयाँ पुगेको छ। वित्तीय सन्तुलनका हिसाबले कम्पनीको जीवन बीमा कोषको आकारमा सुधार आएको छ। गत वर्षको तुलनामा यो कोष ४१.२७ प्रतिशतले बढेर करिब १५ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।

हाल ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ४३ करोड ४२ लाख रुपैयाँ, महाविपत्ति कोषमा २९ करोड रुपैयाँ र सेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको कुल सम्पत्तिको मूल्य पनि अघिल्लो वर्षको तुलनामा बढेर २३ अर्ब ३ करोड ८५ लाख रुपैयाँ कायम भएको छ।


प्रकाशित : बिहीबार , माघ २२ २०८२१०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend