पर्सा- चालु आर्थिक वर्षको प्रथम ६ महिनामा वीरगञ्जबाट ४ अर्ब ५६ करोड रुपैयाँबराबरको ३२ हजार ३ सय ३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन्।
ती सवारीसाधनको आयातबाट ४ अर्ब ४३ करोड रुपैयाँ राज्यकोषमा दाखिला भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ३८ करोड रुपैयाँबराबरको २५ हजार ८ सय ५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४५ करोड ८१ लाख रुपैयाँबराबरको ४ हजार ५ सय ६७ वटा मोटरसाइकल आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा २० करोड ७६ लाख रुपैयाँबराबरको २ हजार १ सय ९२ वटा मोटरसाइकल आयात भएका थिए।
यसैगरी चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५८ करोड १८ लाख रुपैयाँबराबरको ४ हजार ५ सय ९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ३० करोड ९६ लाख रुपैयाँबराबरको २ हजार २ सय १८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए। रासस