शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

होटल फरेष्ट इनको आईपीओमा आजदेखि आवेदन दिन सकिने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २२ २०८२
होटल फरेष्ट इनको आईपीओमा आजदेखि आवेदन दिन सकिने

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन खुला गरेको हो।

काठमाडाैं- होटल फरेष्ट इन लिमिटेडले आज माघ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। 

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन खुला गरेको हो।

कुल २ अर्ब रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीले आफ्नो पुँजीको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। 

यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख कित्ता, सामूहिक लगानी कोषलाई २ लाख कित्ता र कर्मचारीहरूलाई ८० हजार कित्ता सेयर यसअघि नै वितरण भइसकेको छ। बाँकी रहेको ३३ लाख २० हजार कित्ता साधारण सेयर अब सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा बिक्री खुल्ला गरिएको छ।

इच्छुक लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।निष्कासन प्रक्रिया छिटोमा माघ २६ गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेको खण्डमा फागुन ८ गतेसम्म लम्बिन सक्नेछ। 

रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यस कम्पनीलाई आइआरएन डबल बी माइनस रेटिङ दिएको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।

कम्पनीले सञ्चालन गरेको आयोजनाको कुल लागत ३ अर्ब ४८ करोड २१ लाख १५ हजार ५२८ रुपैयाँ रहेको छ। यस लगानीको साधारण फिर्ता हुने अवधि १०.८६ वर्ष र डिस्काउण्टेड फिर्ता हुने अवधि १५.३३ वर्ष अनुमान गरिएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले मेरो सेयर अनलाइन प्रणाली वा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत सहजै आवेदन दिन सक्नेछन्।


प्रकाशित : बिहीबार , माघ २२ २०८२१०:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend