काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले निष्कासन गरेको 'केएसबीबीएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर' बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको लाजिम्पाटस्थित कार्यालयमा आज बुधबार उक्त सेयर बाँडफाँट गरिएको हो।
३५ करोड रुपैयाँबराबरको उक्त सेयरका लागि माग गरिएभन्दा १.९ गुणा बढी आवेदन परेको थियो।
परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरू (बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषबाहेक) का लागि यही माघ १२ गतेदेखि १५ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो। उक्त अवधिमा विभिन्न संघसंस्थाहरूमार्फत उत्साहजनक सहभागिता पाइएको बैंकले जनाएको छ।
अविमोच्य अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर (असञ्चिति) रहेको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर विकास बैंकहरूमा पहिलोपटक जारी गरिएको हो।