आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

४ अर्ब ७५ करोड रुपैयाँ लगानीमा भरतपुरमा औषधि उद्योग स्थापना गर्दै देउराली-जनता फार्मास्युटिकल्स

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २१ २०८२
४ अर्ब ७५ करोड रुपैयाँ लगानीमा भरतपुरमा औषधि उद्योग स्थापना गर्दै देउराली-जनता फार्मास्युटिकल्स

चितवनमा नयाँ कारखाना स्थापना भएसँगै उत्पादन विविधीकरण, गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजारमा नेपाली औषधिको प्रतिस्पर्धात्मक क्षमता बढ्ने विश्वास लिइएको कम्पनीले जनाएको छ।

चितवन- देउराली-जनता फार्मास्युटिकल्स प्रालिले भरतपुरमा अत्याधुनिक ओषधि उद्योग स्थापना गर्ने भएको छ। कम्पनीले उक्त परियोजनामा थप ४ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

फार्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माका अनुसार भरतपुर महानगरपालिका-१६ मा उद्योगको दोस्रो एकाइका प्रारम्भिक काम अघि बढाइएको छ।

थप संरचना निर्माणका लागि सरकारी निकायहरूसँग लिनुपर्ने अनुमति प्रक्रियामा छ। दुई वर्षभित्रमा निर्माणको काम सक्ने लक्ष्य लिइएको उनको भनाइ छ। अबको दुई महिनामा मुख्य संरचनाको काम गर्ने योजना छ।

यो एकाइ सम्पन्न भएपछि करिब ५ सय ५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने उनले बताए। देउराली-जनता विगत ३५ वर्षदेखि अत्यावश्यक जीवनरक्षक औषधिहरू स्वदेशमै उत्पादन गर्दै आएको नेपालकै अग्रणी औषधि उद्योग हो।

हाल कम्पनीले ‘क्याप्सुल’, ‘ट्याब्लेट’, ‘लिक्विड’, ‘ओइन्टमेन्ट’, ‘ड्राइ पाउडर’लगायत २ सय ९६ प्रकारका औषधि उत्पादन गरिरहेको छ।

अन्तर्राष्ट्रियस्तरका डब्लूएचओ जीएमपी, आईएसओ ९००१ र आईएसओ १४००१ प्रमाणपत्र प्राप्त यस उद्योगले औषधि आयातमा रहेको निर्भरता घटाउँदै मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा योगदान पुर्‍याइहेको उनले बताए।

चितवनमा नयाँ कारखाना स्थापना भएसँगै उत्पादन विविधीकरण, गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजारमा नेपाली औषधिको प्रतिस्पर्धात्मक क्षमता बढ्ने विश्वास लिइएको कम्पनीले जनाएको छ। हाल उद्योग काठमाडौंको टोखामा सञ्चालित छ। यो पहिलो एकाइ हो भने दोस्रो एकाइ भरतपुरमा सञ्चालन गर्न लागिएको हो। रासस


प्रकाशित : बुधबार, माघ २१ २०८२११:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend