काठमाडौं- सुन र चाँदीपछि अन्तर्राष्ट्रिय बजारमा तामाको मूल्य पनि उल्लेख्य रूपमा महँगो हुँदै गएको छ।
लन्डन मेटल एक्सचेन्ज (एलएमई) का अनुसार सन् २०२५ नोभेम्बर ५ मा प्रतिमेट्रिक टन १० हजार ८७२ अमेरिकी डलर ५० सेन्ट रहेको तामाको मूल्य सन् २०२६ जनवरी २९ सम्म आइपुग्दा बढेर १३ हजार ८४४ डलर पुगेको थियो। यद्यपि, फेब्रुअरी २ मा भने तामाको मूल्य केही घट्दै प्रतिटन १२ हजार ९८७ डलरमा झरेको छ।
पछिल्लो तीन महिनामा मात्र होइन, केही वर्षयतादेखि नै तामाको अन्तर्राष्ट्रिय मूल्य बढ्दो प्रवृत्तिमा रहेको विश्व बैंकले जनवरीमा सार्वजनिक गरेको वस्तु बजारसम्बन्धी प्रतिवेदनले देखाएको छ। प्रतिवेदनअनुसार सन् २०२३ मा तामाको औसत मूल्य प्रतिमेट्रिक टन ८ हजार ४९० अमेरिकी डलर रहेकोमा सन् २०२५ मा बढेर ९ हजार ९४७ डलर पुगेको छ।
विश्व बैंकका अनुसार सन् २०२५ को तेस्रो त्रैमासदेखि तामाको अन्तर्राष्ट्रिय बजार मूल्य क्रमशः उकालो लागेको देखिन्छ। जुलाई–सेप्टेम्बर २०२५ (तेस्रो त्रैमास) मा तामाको औसत मूल्य प्रतिमेट्रिक टन ९ हजार ८०८ अमेरिकी डलर रहेकोमा त्यसपछिका महिनामा तीव्र वृद्धि भएको छ । सन् २०२५ को चौथो त्रैमासमा तामाको मूल्य प्रतिमेट्रिक टन ११ हजार ११२ अमेरिकी डलरसम्म पुगेको थियो।
अन्तर्राष्ट्रिय समाचार माध्यमहरूका अनुसार नवीकरणीय ऊर्जा उत्पादन तथा उपयोग हुने क्षेत्रमा तामाको प्रयोग उच्च हुने भएकाले यसको माग बढ्दै गएको हो।
विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर, हावा तथा सौर्य ऊर्जासम्बन्धी उपकरण, विद्युतीय सवारीसाधन र ऊर्जा प्रसारण प्रणालीमा तामाको व्यापक प्रयोग हुने भएकाले विश्व बजारमा यसको मूल्यमा दबाब बढेको विश्लेषण गरिएको छ।