काठमाडौं- चालु आर्थिक वर्ष २०८२/०८३ साउनदेखि पुस मसान्तसम्म (६ महिनामा) ७ सय ८१ नयाँ उद्योग दर्ता भएका छन्। उद्योग विभागका अनुसार नयाँ दर्ता भएका ७ सय ८१ उद्योगमा १ खर्ब ३० अर्बको लगानी प्रतिवद्धता आएको छ।
विभागका अनुसार ६ महिनामा ३४ वटा ठूला उद्योग, ३५ वटा मझौला उद्योग र ७ सय १२ वटा साना प्रकृतिका उद्योग दर्ता भएका छन्।
विभागमा दर्ता भएका उद्योगमध्ये साना उद्योगको हिस्सा ९१.२ प्रतिशत रहेको छ भने ठूला उद्योग ४.४ र मझौला उद्योग ४.५ प्रतिशत रहेको छ। नयाँ दर्ता भएका ७ सय ८१ उद्योगमा ३२ हजार ६ सय २७ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ।
६ महिनामा १ सय ६१ विदेशी लगानी स्वीकृत भएको छ भने स्वचालित मार्गबाट ३ सय १४ विदेशी लगानी स्वीकृति भएको छ।
४ सय ७५ वटा परियोजनामा विदेशी लगानी स्वीकृत भएका छन्। ६ महिनामा ३९ अर्ब २३ करोड रुपैयाँको विदेशी लगानी प्रतिवद्धता आएको छ।
विदेशी लगानी स्वीकृत भएका परियोजनाहरुमा २० हजार जनाभन्दा बढीलाई रोजगारी प्रस्ताव गरिएको छ।
सबैभन्दा बढी दर्ता भएका उद्योग सूचना प्रविधि क्षेत्रका रहेका छन्। यो क्षेत्रमा ३ सय ५९ वटा उद्योग दर्ता भएका छन्। ३ सय ५९ उद्योगमा १ अर्ब ५२ करोड ३९ लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।
यसैगरी बढी उद्योग दर्ता हुने क्षेत्रमा दोस्रोमा पर्यटनमा आधारित उद्योग रहेका छन्। पर्यटन उद्योगमा आधारित २ सय ४२ वटा उद्योग दर्ता भएका छन् भने लगानी प्रतिवद्धता ३३ अर्ब ६ करोड ५४ लाख ७९ हजार रुपैयाँ रहेको छ।
कृषि तथा वन पैदावारमा आधारित १७ वटा उद्योग दर्ता भएको छ। जसमा २४ अर्ब ८३ करोड ३१ लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको छ। विभागका अनुसार ऊर्जामा आधारित १५ वटा उद्योगमा २० अर्ब ६५ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।
यसैगरी उत्पादनमूलक उद्योगतर्फ ८४ वटा उद्योग दर्ता भएको छ भने १८ अर्ब ८२ करोड ६७ लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।
विभागले सार्वजनिक गरेको विवरणमा खनिजमा आधारित उद्योगतर्फ ५ वटा उद्योग दर्ता भएको छ। जसमा १९ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।
यसैगरी सेवामा आधारित उद्योगतर्फ ५९ वटा नयाँ उद्योग दर्ता भएको छ। जहाँ ३० अर्ब ८९ करोड ६९ लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।