काठमाडौं- पुँजी बजार सञ्चालक तथा नियामक निकाय अराजक समूहको निसानामा पर्न थालेको छ। विभिन्न स्वार्थ बोकेका समूहले धम्की दिने, हुलहुज्जत गर्नेसम्मका गतिविधि गर्न थालेका छन्।
पुँजी बजारको नियामक धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमाथि यस्ता समूहले दबाब दिने, धम्की दिने गरिरहेका छन्।
कुनै निश्चित कम्पनीको सेयर निष्कासनदेखि सूचीकरण रोक्न र अघि बढाउने भन्ने आसशयको मागसहित धम्कीसम्म दिने समूहको बिगबिगी बढेको छ। सेयर बजारमा लगानी गर्नेहरूको नाममा विभिन्न समूह बनाएरै यस्तो दबाब र धम्कीसम्म दिने गरेका छन्।
यस्ता समूहले सुरूमा इमेल पठाउँछन्। त्यसपछि प्रवक्तादेखि हाकिमसम्मलाई फोन गर्छन्। फोन उठ्न छाडेपछि कार्यालयमै गएर हुलहुज्जतको प्रयास हुने गरेको अनुभव सुनाउँछन् कर्मचारीहरू।
पछिल्लो समय सेयर बजारमा थप सेयर सूचीकरण गर्न नहुने पक्षमा एउटा समूह छ। अर्को समूह रोक्न नहुने विधि र प्रक्रियाअनुसार सबैलाई दिनुपर्ने भन्नेमा छ।
घाटारहित कारोबारको माग गर्दै पहिले धितोपत्र बोर्डलक्षित आन्दोलनसम्म हुने गरेपनि कार्यालयमै गएर यो तहको हुलहुज्जत भने यसअघि नभएको बताउँछन् नेप्सेका कर्मचारीहरू।
सेटलमेन्टलगायतका सेवाको गुणस्तरका विषयमा वा कुनै निश्चित इस्युमा एकाध धम्कीसम्म आएपनि अहिलेको जस्तो नभएको उनीहरूको भनाइ छ। ‘तर अहिले अवस्था कस्तोसम्म छ भने सिधै धम्की दिन्छन्’ नेप्सेका एक अधिकारी भन्छन्।
सेयर बजारमा लगानी गरेपछि सधैँ नाफा हुनुपर्छ र बजार बढिरहनुपर्छ भन्ने मान्यता राख्नेहरूको बाहुल्यता छ। लगानीपछिको नाफालाई मौलिक अधिकार जस्तो ठान्ने यस्तो समूह अहिलेको अवस्थामा नयाँ सेयर बजारमा थपिएपछि बझर झन् घट्ने मान्यता राख्छ।
यस्तो समूह अर्थ मन्त्रालयसम्म पुग्ने गरेको छ। अर्थमन्त्रीको कार्यकक्षबाहिर प्रायजसो दिनमा एउटा यस्तै समूह पुगेकै हुन्छ। कहिले ध्यानाकर्षण पत्र, कहिले के भन्दै पत्र दर्ता गर्न जान्छन्। अर्थमन्त्रीलाई म्यासेज गर्ने, फोन गर्नेसम्म पनि गरिरहेका हुन्छन्। मन्त्रालयभन्दा बढी यस्ता समूहको तारोमा सेबोन र नेप्से रहेको छ।