शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अन्तर्राष्ट्रियस्तरको स्टक एक्सचेन्ज बनाउन अध्ययन समितिकाे सुझाव

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २० २०८२
अन्तर्राष्ट्रियस्तरको स्टक एक्सचेन्ज बनाउन अध्ययन समितिकाे सुझाव

प्रकाशजंग थापाको संयोजकत्वमा गठित उक्त समितिले नेप्सेको संरचनात्मक सुधारका लागि चुक्ता पुँजी ३ अर्ब पुर्‍याउनुपर्ने र सरकारी लगानीलाई विनिवेश गर्दै निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय विनिमय बजारलाई सहभागी गराउनुपर्ने निष्कर्ष छ।

काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आधुनिक र व्यावसायिक बनाउन गठित अध्ययन समितिले सरकारलाई आफ्नो स्वामित्व छाड्न र विदेशी रणनीतिक साझेदार भित्र्याउन सुझाव दिएको छ। 

प्रकाशजंग थापाको संयोजकत्वमा गठित उक्त समितिले नेप्सेको संरचनात्मक सुधारका लागि चुक्ता पुँजी ३ अर्ब पुर्‍याउनुपर्ने र सरकारी लगानीलाई विनिवेश गर्दै निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय विनिमय बजारलाई सहभागी गराउनुपर्ने निष्कर्ष छ।

समितिको प्रतिवेदन अनुसार नेप्सेमा हाल रहेको सरकारी कर्मचारीहरूको बाहुल्यतालाई अन्त्य गरी स्वतन्त्र र विज्ञ सञ्चालकहरू नियुक्त गर्नुपर्ने आवश्यकता छ। प्राविधिक र व्यवस्थापकीय रूपान्तरणका लागि अन्तर्राष्ट्रियस्तरको ख्यातिप्राप्त स्टक एक्सचेन्जलाई १५ देखि २५ प्रतिशत स्वामित्वसहित रणनीतिक साझेदार बनाउन सुझाव दिइएको छ।

यसका साथै हालको कारोबार प्रणालीलाई स्तरोन्नति गर्दै इनट्रा-डे ट्रेडिङ, अक्सन मार्केट र स्वचालित निगरानी प्रणाली जस्ता आधुनिक सुविधाहरू तत्काल लागू गर्नुपर्नेमा जोड दिइएको छ।

लगानीकर्ताको हित र जोखिम व्यवस्थापनका लागि सेन्ट्रल काउन्टरपार्टी को स्थापना, नयाँ लगानी उपकरणका रूपमा ईटीएफ , र साना तथा मझौला उद्योगका लागि छुट्टै एसएमई प्लेटफर्म सञ्चालन गर्न समेत प्रतिवेदनले सुझाएको छ।

नेप्सेलाई विश्वस्तरीय बनाउन 'वर्ल्ड फेडेरेसन अफ एक्सचेन्ज'को सदस्यता लिने, डाटा साइन्स जस्ता विशिष्टीकृत जनशक्ति भर्ना गर्ने र संस्थागत सुशासनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुदृढ बनाउनुपर्ने समितिको सुझाव छ।

मुख्य सुझावहरु 

१‍.नेप्सेको क्षमता वृद्धि गर्न र आधुनिक सेवा सुविधाहरु विस्तार गर्न चुक्ता पुँजी वृद्धि गरी ३ अर्ब रुपैयाँ पुर्‍याउनु पर्ने। 

२. नेप्सेमा प्राविधिक र व्यवस्थापकीय दक्षता ल्याउन १५ देखि २५ प्रतिशत स्वामित्व रहने गरी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त स्टक एक्सचेन्जसँग रणनीतिक साझेदारी गर्नुपर्ने।

३.सरकारी स्वामित्व भएका संस्थानका कमीकजोरी हटाउन र व्यावसायिकता बढाउन नेप्सेमा रहेको सरकारी लगानीलाई क्रमशः विनिवेश गर्दै जानुपर्ने।

४.सञ्चालक समितिमा सरकारी कार्मचारीहरुको बाहुल्यता हटाई स्वतन्त्र र विज्ञ सञ्चालकहरुको बाहुल्यता हुने गरी संरचनामा परिवर्तन गर्नुपर्ने। 

५.नेप्सेको हालको प्रणालीलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको आधुनिक कारोबार प्रणाली (इनट्रा–डे ट्रेडिङ, अक्सन मार्केट) जस्ता सुविधा र स्वचालित निगरानी प्रणाली लागु गर्नुपर्ने। 

६.लगानीकर्ताहरुलाई जोखिम व्यवस्थापनको अवसर दिन ईटीएफ जस्ता नयाँ उपकरणहरु र एसएमई तथा स्टाटप प्लेटफर्म सञ्चालनमा ल्याउनु पर्ने। 

७.दोस्रो बजारको जोखिम न्यूनीकरणका लागि सेन्ट्रल काउन्टरपार्टी (सीसीपी)को व्यवस्था गर्नुपर्ने र नेप्सेको सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेडको पनि पुँजी वृद्धि तथा स्वामित्व संरचनामा सुधार गर्नुपर्ने।

८.नेप्सेलाई आइओएससीओका सिद्धान्त अनुरुप बनाउँदै संस्थागत सुशासन सुदृढ गर्न आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने। 

९.संगठनको नयाँ संरचना अनुसार डाटा साइन्स र डाटा एनालिस्ट जस्ता विशिष्टीकृत जनशक्ति भर्ना गर्न र कार्मचारीहरुको वृत्ति विकासमा ध्यान दिन ओएण्डएम सर्वेक्षण गर्नुपर्ने। 

१०.नेप्सेलाई विश्वका अन्य स्टक एक्सचेन्जहरुसँग प्रतिस्पर्धी बनाउन वर्ल्ड फेडेरेसन अफ एक्सचेन्जको पूर्ण सदस्यता लिनुपर्ने र अन्य वैदेशिक एक्सचेन्जहरुको सूचना आदानप्रदानमा जोड दिनुपर्ने। 


प्रकाशित : मंगलबार, माघ २० २०८२१४:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend