काठमाडौं- लामो समयको प्रतिक्षापछि भारत र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैले यसको घोषणा गरेका हुन्।
व्यापार सम्झौतामा सहमति नहुँदा अमेरिकाले भारतीय निर्यातमा लगाएको ५० प्रतिशतसम्ममको भन्सार महसुलले भारतीय अर्थतन्त्र दबाबमा आएको थियो। तीव्र वृद्धिदरका बाबजुद अर्थतन्त्रमा पछिल्लो समय दबाब थियो।
यो सम्झौतासँगै अब भन्सार महसुल १८ प्रतिशतमा सीमित हुनेछ। अन्य क्षेत्रीय प्रतिस्पर्धीको तुलनामा भारतीय वस्तुमाथिको भन्सार न्यून हुनेछ।
यसअघि अमेरिकाले समकक्षी करका रुपमा २५ प्रतिशत र रूसी तेल खरिदको बदलामा २५ प्रतिशत गरी ५० प्रतिशत भन्सार पुर्याएको थियो। यही कारणले वस्तु निर्यात प्रभावित बनेको थियो।
अमेरिकाले भारतसँगको व्यापार सम्झौतामा सैन्य सामग्री तथा कृषि उत्पादनमा विशेष जोड दिँदै आएको थियो। अब यसमा पनि सहमति भएको छ।
यो सम्झौतासँगै भारतले अब ५ खर्ब डलरबराबरको अमेरिकी वस्तु तथा सेवाको खरिद भारतले गर्ने बताएका छन्। प्रविधि, ऊर्जा, कृषि तथा सैन्य सामग्री भारतले अमेरिकाबाट खरिद गर्ने ट्रम्पले जानकारी दिएका छन्।