आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

गोकर्ण फरेस्ट रिसोर्टको सञ्चालन आम्दानी ७.८७ प्रतिशतले बढ्यो, नाघ्यो ४५ करोड

मंगलबार, माघ २० २०८२
गोकर्ण फरेस्ट रिसोर्टको सञ्चालन आम्दानी ७.८७ प्रतिशतले बढ्यो, नाघ्यो ४५ करोड

केही वर्षयता रिसोर्टको कोठा अकुपेन्सी दर ४० देखि ४५ प्रतिशतको दायरामा स्थिर रहे पनि प्रतिउपलब्ध कोठा आम्दानी मा क्रमिक सुधार देखिएको इक्रा नेपालले जनाएको छ।

काठमाडौं- नेपालको पुरानोमध्येको लक्जरी रिसोर्ट ब्रान्ड गोकर्ण फरेस्ट रिसोर्टको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य रूपमा बढेको छ।

एक सय कोठाको बुटिक रिसोर्ट सञ्चालन गर्दै आएको गोकर्ण फरेस्ट रिसोर्ट प्रालिको सञ्चालन आम्दानी अघिल्लो आव २०८०/८१ को तुलनामा करिब ८ प्रतिशतले वृद्धि भइ ४५ करोड २० लाख रुपैयाँ पुगेको छ।

क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालका अनुसार अघिल्लो आवमा कम्पनीको सञ्चालन आम्दानी ४१ करोड ९० लाख रुपैयाँ थियो। यसअनुसार वार्षिक आधारमा आम्दानी ३ करोड ३० लाख रुपैयाँले बढेको हो। पछिल्ला तीन आर्थिक वर्षमा कम्पनीको सञ्चालन आम्दानी वार्षिक औसत १० प्रतिशतले वृद्धि भएको इक्रा नेपालको प्रतिवेदनमा उल्लेख छ।

केही वर्षयता रिसोर्टको कोठा अकुपेन्सी दर ४० देखि ४५ प्रतिशतको दायरामा स्थिर रहे पनि प्रतिउपलब्ध कोठा आम्दानी मा क्रमिक सुधार देखिएको इक्रा नेपालले जनाएको छ। यसले कुल आम्दानी वृद्धिमा सकारात्मक योगदान पुर्‍याएको छ।

कम्पनीले बैंकेट सञ्चालनमार्फत तुलनात्मक रूपमा उच्च आम्दानी गर्दै आएको भए पनि गोकर्ण अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माणमा ढिलाइ भए भविष्यको आम्दानीमा असर पर्न सक्ने इक्रा नेपालको चेतावनी छ। प्रतिवेदनअनुसार सम्मेलन केन्द्र निर्माणको काम मङ्सिर ७ गतेसम्म ५२ प्रतिशत सम्पन्न भएको छ।

सन् १९९५ मा स्थापना भएको गोकर्ण फरेस्ट रिसोर्ट ४७० एकड क्षेत्रफलमा फैलिएको छ। १०० कोठा रहे पनि ती कोठाको सतप्रतिशत उपयोग हुन नसकेको देखिन्छ। रिसोर्ट सरकारी स्वामित्वको जग्गा भाडामा लिएर निजी लगानीकर्ताले सञ्चालन गर्दै आएका छन्।

यहाँ आवास सुविधासँगै गल्फ सेवा, घोडा सवारी, वन पदयात्रा (फरेस्ट वाक) लगायतका गतिविधि सञ्चालन हुन्छन्। विशेषतः गल्फ खेलका लागि गोकर्ण फरेस्ट रिसोर्ट चर्चित छ। गल्फ सदस्यहरूबाट लिने सदस्यता शुल्कले पनि रिसोर्टको वित्तीय अवस्था मजबुत बनाउँदै आएको छ।

गोकर्ण फरेस्ट रिसोर्टमा पर्यटन क्षेत्रमा स्थापित यती समूह र थामसेर्कु समूहको लगानी छ। यती समूहअन्तर्गत यती एयरलाइन्स र तारा एयरलाइन्स सञ्चालनमा छन् भने थामसेर्कु समूहले एभरेस्ट पदयात्रालगायत ट्रेकिङसम्बन्धी व्यवसाय गर्दै आएको छ।

पर्यटन व्यवसायमा अनुभवी समूहबाट सञ्चालित हुनु, पर्यटन उद्योगलाई सरकारले प्राथमिकतामा राख्नु, भौगोलिक लाभ तथा अन्तर्राष्ट्रियस्तरको गल्फ कोर्स हुनु गोकर्ण फरेस्ट रिसोर्टका प्रमुख सबल पक्षका रूपमा इक्रा नेपालले मूल्यांकन गरेको छ।


प्रकाशित : मंगलबार, माघ २० २०८२१३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend