शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सिनर्जी पावरको साधारण सभामा बाउन्सर, लगानीकर्ताको बहिष्कारबीच चुनाव

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १९ २०८२
सिनर्जी पावरको साधारण सभामा बाउन्सर, लगानीकर्ताको बहिष्कारबीच चुनाव

बिहान १० बजेका लागि तय गरिएको सभास्थल बाहिर सेयरधनीहरूको ठूलो भीड जम्मा भए पनि भित्र छिर्ने अनुमति भने केही सीमित व्यक्तिले मात्र पाएका थिए।

काठमाडौं- करिब २०० बाउन्सर र प्रहरी घेराको बीचमा सोमबार बौद्धस्थित बौद्ध हेरिटेजमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ।

बिहान १० बजेका लागि तय गरिएको सभास्थल बाहिर सेयरधनीहरूको ठूलो भीड जम्मा भए पनि भित्र छिर्ने अनुमति भने केही सीमित व्यक्तिले मात्र पाएका थिए। 

सर्वसाधारण सेयरधनी र सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइँदा सभास्थलको वातावरण कुनै व्यावसायिक संस्थाको साधारण सभा नभई नाइट क्लबको सुरक्षा व्यवस्था जस्तै देखिएको आरोप लगानीकर्ताहरूले लगाएका छन्।

लगानीकर्ताहरूका अनुसार, व्यवस्थापन पक्षले प्रोक्सी कागजातमा नक्कली हस्ताक्षर भएको आशंकालाई हतियार बनाएर वास्तविक सेयरधनीहरूलाई बाहिरै रोक्ने रणनीति अपनाएको थियो। निर्वाचनका लागि उम्मेदवार बनेका केही सेयरधनीलाई समेत प्रवेश निषेध गरिएपछि विवाद झन् उग्र बनेको थियो। होल्ड गर्ने सेयरधनीलाई पाखा लगाएर महँगोमा सेयर बेच्ने समूहलाई मात्र प्राथमिकता दिएको लगानीकर्ताको आरोप छ।

करिब ६ करोडको आर्थिक चलखेल लुकाउन आफ्नै निकट मान्छेहरूलाई सञ्चालक समितिमा नियुक्त गरिएको शंका लगानीकर्ताहरूले व्यक्त गरेका छन्। यसअघि पुस २८ र माघ ८ गतेका लागि तय गरिएकाे सभा पनि विभिन्न बहानामा पटक-पटक स्थगित हुँदै आएकाे थियाे। विवादबीच सम्पन्न भएको यो सभाको वैधानिकतामाथि प्रश्न उठाउँदै पीडित सेयरधनीहरू अब अदालत जाने तयारीमा जुटेका छन्। धम्की र बन्द ढोकाभित्र चलाइएको सभा आफूहरूलाई स्वीकार्य नहुने भन्दै उनीहरूले अब कानुनी लडाइँ नै अन्तिम विकल्प भएको बताएका हुन्।


प्रकाशित : सोमबार, माघ १९ २०८२१८:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend