काठमाडौं- चालु आर्थिक वर्षको छ महिनामै १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स मुलुकमा भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा मुलुकमा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो गत वर्षको तुलनामा ३९ प्रतिशतले बढी हो।
रेमिट्यान्समा ऐतिहासिक वृद्धिददर कायम हुँदा भुक्तानी सन्तुलन तथा चालु खाता पनि सुविधाजनक सन्तलित भएका छन्। पुसममा मात्र १ खर्ब ९२ अर्ब रेमिट्यान्स भित्रिएको छ। अमेरिकी डलर टर्ममै रेमिट्यान्स ३२ प्रतिशतले बढेको छ।
छ महिनासम्म चालु खाता ४ खर्ब २९ अर्बले बचतमा रहेको छ। गत वर्ष १ खर्ब ६५ अर्बले बचतमा थियो। त्यस्तै शोधनान्तर अवस्था पनि ५ खर्ब १ अर्बले बचतमा रहेको छ।
एकातिर रेमिट्यान्सको बुम अर्कोतिर आयातमा सोहीअनुसारको वृद्धि नहुँदा चालु खाता तथा शोधनान्तर सुविधाजनक अवस्थामा रहेको हो।
पुससम्म मुलुकको विदेशी मुद्रा भण्डारमा २२ अर्ब ४६ करोड डलर पुगेको छ। यो गर्षको छ महिनामै १५ प्रतिशतले बढेको छ।
बाह्य अवस्था निरन्तर सुविधाजनक हुँदै विदेशी मुद्राको भण्डारण २२ अर्ब डलर पुग्दासमेत मुलुकको आन्तरिक अर्थतन्त्र भने शिथिल जस्तै छ। राजस्व वृद्धिदर सीमान्त छ भने अन्य गतिविधिले पनि गति लिन सकेको छैन।
पछिल्लो दुई वर्षदेखि बाह्य अवस्थामा सुधार देखिएपनि यसको लाभ आन्तरिक अर्थतन्त्रले लिन सकेको छैन।