काठमाडौं- आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भइ १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो।
२०८२ पुस महिनामा विप्रेषण आप्रवाह १ खर्ब ९२ अर्ब ६२ करोड रहको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड रहेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भइ ७ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो।
गएको असोज महिनामा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। जुन एकै महिनामा हालसम्म आएको सबैभन्दा धेरै रेमिट्यान्स हो।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड रहेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या २,०६,८०७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १,९४,७३३ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २,३०,४३९ र १,६२,६२८ रहेको थियो।