काठमाडौं- नेपालका लागि तयार गरिएको जलवायु अनुकूलनको डिजिटल नक्सा सार्वजनिक गरिएको छ।
नक्सा सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले यो नक्सा नेपालको कृषि क्षेत्रको लागि महत्वपूर्ण मोड भएको धारणा राखेका छन्। उनले जलवायु परिवर्तनका जोखिमबाट आक्रान्त नेपालको परम्परागत कृषि प्रणालीको सुरक्षाको लागि यो नक्सा उपयोगी हुने बताएका छन्।
उनले यो नक्सा केही संस्थाहरूले उपयोग गर्न थालिसकेकोमा खुशी व्यक्त गर्दै विविध क्षेत्रसहित किसानस्तरमा उपयोग बढाउन सम्बद्ध निकायहरूले ध्यान दिनुपर्ने बताएका छन्।
बोर्लाग इन्स्टिट्यूट फर साउथ एसिएका क्षेत्रीय कार्यक्रम प्रमुख डा. प्रमोद अग्रवालले जलवायु परिवर्तनका जोखिमले विश्वव्यापी समस्या सिर्जना गरिरहेको वर्तमान अवस्थामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका वैज्ञानिकहरूको सकृयतामा तयार गरिएको यो नक्सा एक नयाँ प्रयास भएको र उपयुक्त समयमा आएको धारणा राखेका छन्।
नार्कका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिमसिनाले यो नक्साले जलवायुका जोखिमबाट बालीनाली र पशुपन्छीमा परेको नकारात्मक प्रभाव न्यूनीकरणका लागि नीति निर्माण गर्न सहयोग गर्ने र जलवायुमैत्री प्रविधि अवलम्बनको क्षेत्रमा महत्वपूर्ण कोशेढुंगा रहेको विचार व्यक्त गरेका छन्।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आयोजक राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा. तुलसी पौडेलले नक्साले जलवायु अनुकूलनका योजना तर्जुमा, वित्तीय संस्थाहरूमार्फत जोखिम विश्लेषणमा आधारित ऋण प्रवाह, शिक्षा क्षेत्रमा अध्ययन र संस्थाहरूले सजगताका कार्यक्रममा प्रयोग गरी लाभ लिन सक्ने बताएका छन्।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार यो नक्सा डिजिटल नेपालको राष्ट्रिय उद्देश्य पूरा गर्न महत्वपूर्ण कदम रहेको र माटोको डिजिटल नक्सापछि नार्कले यो क्षेत्रमा गरेको अर्को उपलब्धि हो।
नक्साले किसानलाई बालीनाली र पशुपन्छीका जलवायुजन्य जोखिमको विश्लेषण गर्दै यसको असरको लेखाजोखा गर्न र जोखिम न्यूनीकरणका लागि स्थान र समयअनुसारका उपयुक्त प्रविधिको जानकारी दिन सहयोग गर्ने बताइएको छ।