काठमाडौं- भारतको केन्द्रीय बजेटमा नेपाललाई अनुदानका लागि ८ अर्ब भारु विनियोजनको प्रस्ताव गरिएको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको आर्थिक वर्ष २०२६/०२७ को बजेटमा नेपाललाई ८ अर्ब अनुदानको प्रस्ताव गरिएको छ।
भारतको बजेटमा सबैभन्दा धेरै अनुदान पाउने यो वर्ष पनि भुटान नै रहेको छ। भुटानलाई २२ अर्ब भारु अनुदानको प्रस्ताव गरिएको छ।
दक्षिण एसियामा भुटानपछि नेपालको अनुदान रहेको छ। गत वर्षको तुलनामा यो वर्ष नेपालका लागि ३० करोड भारु अनुदान घटेको छ। गत वर्ष ८ अर्ब ३० करोड विनियोजन गरिएको थियो। विनियोजन गरिएकै बजेट पनि खर्च नहुने नेपालको समस्या रहँदै आएको छ।
भुटानका लागि भने यो वर्ष पनि अनुदान बढेको छ। गत वर्ष १९ अर्ब दिएकोमा यो वर्ष २२ अर्ब बढी दिने प्रस्ताव छ। त्यस्तै भारतीय बजेटमा श्रीलंकाका लागि ४ अर्ब, माल्दिभ्सका लागि ३ अर्ब प्रस्ताव गरिएको छ।