दाङ- कोइलावास भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको हो।
दाङको एकमात्र भन्सार नाका कोइलावास भन्सारले लक्ष्यभन्दा ८ लाख ७३ हजार ६ सय ३८ रुपैयाँ कम राजस्व संकलन गरेको छ। भन्सार कार्यालयले ६ महिनासम्म ८४ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो।
पुस मसान्तसम्म ७६ लाख २३ हजार ३ सय ६२ रुपैयाँ संकलन भएको कोइलावास भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए। जुन लक्ष्यको ८९.७२३ प्रतिशत हो।
कार्यालयले साउनमा १३ लाख ५८ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकामा ९ लाख ९० हजार ९ सय ७४ रुपैयाँ संकलन गरेको छ। यसैगरी भदौमा १४ लाख ९८ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकामा ६ लाख ६८ हजार ६ सय ४९ रुपैयाँ राजस्व संकलन भएको छ।
असोजमा १४ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ८ लाख ४ हजार ५ सय ५१ रुपैयाँ संकलन भएको छ। त्यसैगरी कात्तिकमा १५ लाख १ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकामा ९ लाख ६३ हजार ८ सय ३० रुपैयाँ संकलन भएको छ।
मंसिर महिनामा १३ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ८ लाख ८६ हजार २ सय ९५ रुपैयाँ संकलन भएको छ। पुसमा १३ लाख ४० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकामा ३३ लाख ९ हजार ६३ रुपैयाँ संकलन भएको छ। पुसमा भारतीय पर्यटकको नेपाल आगमन बढी भएकाले राजस्व वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।
दाङ, रोल्पा, प्युठानका लागि पैठारी हुने व्यापारिक सामान कोइलावास नाकाबाट भित्रिएको देखिँदैन। व्यापारीका लागि सबैभन्दा छोटो नाका परे पनि आकर्षण देखिएको छैन। सहज सडक सञ्जाल भए पनि यसलाई सञ्चालनका लागि सरकारी निकायबाट प्रभावकारी प्रयास भएको पाइँदैन।
निजी क्षेत्रले केही प्रयास थाले पनि यसले सार्थकता पाउन सकेको छैन। हरेक निर्वाचनको समयमा भने कोइलावास भन्सारले चर्चा पाउने गरेको छ। अहिले पनि उम्मेदवारहरूले कोइलावास भन्सारको विषय उठाउन थालेका छन्। कोइलावास नाका सञ्चालन गरी दाङको विकासमा टेवा पुर्याउने भन्दै आश्वासन दिन थालेका हुन्। रासस