काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको अत्यधिक तरलता व्यवस्थापनका लागि आज आइतबार ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकले ५२ दिनको अवधिका लागि उक्त रकम खिच्न लागेको हो।
बैंक तथा वित्तीय संस्थाहरूमा लगानी योग्य रकम तरलता बढी भएपछि ब्याजदर सन्तुलनमा राख्न राष्ट्र बैंकले निरन्तर बजारबाट पैसा उठाउँदै आएको छ। आज संकलन गरिने निक्षेपको सावाँ तथा ब्याज भुक्तानी २०८२ चैत ११ गते हुने बैंकले जनाएको छ।
यस प्रक्रियामा सहभागी हुन चाहने क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलपत्र पेस गर्न पाउनेछन्।
राष्ट्र बैंकका अनुसार बोलपत्र स्वीकृत भएका काउन्टरपार्टीको खातामा उपकरण निष्कासन गरिने दिन पर्याप्त मौज्दात नभएमा त्यस्ता संस्थालाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ।